
देशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भैरहेको छ । हाल कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पानी पर्ने क्रम आज (शुक्रबार) र भोलिसम्मै जारी रहने छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै, कोशी, मधेश र बागमती प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हिमपातको सम्भावना छ ।
पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने मौसमविद् सञ्जिव अधिकारीले बताए । तर, आजको तुलनामा भोलि थोरै ठाउँमा मात्रै वर्षा हुने उनको भनाइ छ ।
हिजोदेखि देशका धेरै ठाउँमा वर्षा हुँदा तुवाँलो हटेको छ भने वायु प्रदूषणमा सुधार आएको छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन पनि विभागले अनुरोध छ।