
नेपालीहरू नयाँ वर्ष २०८२ लाई स्वागत गर्ने अन्तिम तयारीमा छन् । आज नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् ‘इभ’को रात हो । देशभरका पर्यटकीय स्थानमा विभिन्न ‘फेस्ट’ तथा कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई स्वागत गर्ने तयारी गरिएको छ ।
नेपालमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा काठमाडौं, पोखरा, चितवन, धुलिखेल, नगरकोट लगायतलाई लिने गरिन्छ, जहाँ करिब ९० प्रतिशतसम्म होटल बूक भइसकेको होटल व्यवसायीहरूले बताएका छन् ।
विशेषगरी होटलका लागि नयाँ वर्षको अधिकांश बूकिङ चैत महिनाको २९, ३०, ३१ र वैशाख १ गतेसम्मका लागि हुने गर्दछ ।
नयाँ वर्षको स्वागतका लागि होटल व्यवसायीहरू उत्साहित रहेको होटल एसोसियन अफ नेपालका अध्यक्ष विनायक शाहले बताए ।
देशका विभिन्न स्थानमा व्यावसायिक फेस्ट, कन्सर्ट, नाचगान तथा विभिन्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
‘कोशी प्रदेशदेखि काठमाडौंका विभिन्न स्थानमा नयाँ वर्षको स्वागतका लागि कार्यक्रमहरू राखिएका छन्’, उनले भने, ‘पोखराका विभिन्न स्थानमा पनि त्यत्तिकै कार्यक्रम आयोजना गरिएको छ । होटल बूकिङ १ साताअघिदेखि हुन थालिसकेको हो ।’
तर, नेपालमा कनेक्टिभिटीको समस्याले गर्दा सम्भावनाभन्दा निकै कम पर्यटक आउने गरेको अध्यक्ष शाहको भनाइ छ ।
नेपालमा हवाई भाडा अत्यधिक महंगो र विभिन्न स्थानहरूमा बाटोको समस्याले पर्यटकहरू क्षमताभन्दा अलि कम आएको उनले गुनासो गरे ।
नयाँ वर्षका लागि पोखरामा १ लाखभन्दा बढी पर्यटक आएको होटल एसोसियन अफ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । हरेक वर्ष ३ दिन आयोजना गरिने महोत्सव यस वर्ष करिब एक सातासम्म आयोजना गरिएको उनले बताए ।
‘एक सातादेखि पोखरामा मानिसहरूको चाप बढिसकेको छ । हरेक वर्ष तीन दिन विशेष महोत्सव चल्छ, तर यस वर्ष करिब एक साता नै चलाउने तयारी छ’, उनले भने, ‘होटलहरूको बूकिङ पनि त्यत्तिकै बढिरहेको छ । करिब–करिब अधिकांश होटलहरू प्याक भइसकेका छन् भने कतिपय होटल ८० प्रतिशत बूक भएका छन् ।’
विशेष गरी नयाँ वर्षका लागि घुम्न जाने र नयाँ वर्षलाई विशेष गरी स्वागत गर्ने ‘ट्रेन्ड’ बढ्दै गइरहेको छ । नेपालका मुख्य पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दो क्रममा छ ।
होटलहरूको बूकिङ कस्तो छ ?
पोखराको लेकसाइडस्थित होटल सरोवरमा २ दिनअघि नै नयाँ वर्षका लागि सम्पूर्ण कोठाहरू बुक भइसकेको होटलका प्रबन्ध निर्देशक प्रतीक पहरीले जानकारी दिए ।
९६ कोठा क्षमताको सरोवरमा १ गतेसम्मका लागि सम्पूर्ण बूकिङ भइसकेको उनको भनाइ छ ।
‘हाम्रो होटलमा शतप्रतिशत नै कोठा बूक भइसकेका छन् । मानिसहरूको आवतजावत पनि बढ्दै गइरहेको छ’, उनले भने, ‘दुई दिनअघिदेखि मानिसहरूको चहलपहल बढिरहेको देख्न सकिन्छ । आजको रात र भोलि विशेष दिन हो, हामी उत्साहित छौं ।’
पोखरास्थित होटल शारामा ९५ प्रतिशत कोठा बूक भइसकेको होटलका सञ्चालक चक्र सुवेदीले लोकान्तरलाई बताए । ६५ कोठाको होटल सहारामा ४ वटा लक्जरियस कोठा मात्रै बाँकी रहेको उनको भनाइ छ ।
‘६५ कोठाको हाम्रो होटलमा ३ वटा लक्जरी रूम मात्रै बाँकी छन् । त्यो पनि आजै बूक हुन्छन्’, उनले भने, ‘बूकिङ गरेकाहरूमा करिब ७० प्रतिशत नेपाली नै छन्, बाँकी विदेशीहरू छन् । त्यसमा पनि भारतबाट आउनेहरू केही बढी नै छन् ।’
यो नयाँ वर्षलक्षित बूकिङको तथ्यांक हो । समग्र वैशाखमा भने ३० प्रतिशत नेपाली र ३० प्रतिशत भारतीय पर्यटक आउने उनको भनाइ छ ।
यसबाहेक २० प्रतिशत चिनियाँ, १५ प्रतिशत पश्चिमी र पूर्वी तथा अन्य राष्ट्रका ५ प्रतिशत पर्यटक आउने गरेका छन् ।
एक साता अघिदेखि नै नयाँ वर्षका लागि होटल बूकिङ शुरू भइसकेको छ । आज अन्तिम दिनसम्म होटल ९० प्रतिशत बूक भइसकेका छन् ।
काठमाडौंको नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिट’ मा सम्पूर्ण कोठाको बूकिङ भइसकेको निर्देशक प्रदीप पौडेलले जानकारी दिए । उनकाअनुसार करिब ८० प्रतिशत आन्तरिक पर्यटकले होटल भरिएका छन् ।
‘करिब एक साता अघिदेखि नै बूकिङ भइसकेको थियो । केही बाँकी थिए, अहिले सम्पूर्ण कोठाहरू प्याक छन्’, उनले भने, ‘नयाँ वर्षका लागि ८० प्रतिशत बूकिङ नेपालीहरूकै छ । हामीले पनि आन्तरिक पर्यटकलाई बढी जोड दिएका छौं ।’