
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार रहेकी एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार रहेकी छन् । उनलाई एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारबाहीका लागि साइबर ब्यूरो बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।