
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भने हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार सोमबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
महाशाखाका अनुसार सोमबार राति कोशी प्रदेश तथा देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ ।