०४ साउन २०८३, सोमबार

मातातीर्थ सबस्टेसनको ब्रेकर प्यानलमा आगलागी, वैकल्पिक व्यवस्थाबाट आपूर्ति दिइँदै

बैशाख १, २०८२
काठमाडौं
मातातीर्थ सबस्टेसनको ब्रेकर प्यानलमा आगलागी, वैकल्पिक व्यवस्थाबाट आपूर्ति दिइँदै

नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसन अन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आगलागी भएको छ ।

आइतबार दिउँसो भएको उक्त आगलागीबाट तीन वटा फिडरको विद्युत् वितरण प्रभावित भएको छ । एउटा फिडरमा पूर्ण रूपमा क्षति भएको र बाँकी पनि प्रभावित भएको मातातीर्थ सबस्टेसन इन्चार्ज दिनेश महर्जनले बताए ।

यूजी प्रोजेक्टका केबलहरू परीक्षण गर्न ११ केभी सर्किट ब्रेकरलाई लोडबिनै चार्ज गर्ने प्रयास गरिएको थियो । तर, तुरुन्तै सर्ट सर्किट भएर भित्रबाट नियन्त्रण गर्न नसकिने अवस्था आएको थियो । 

‘त्यसपछि ट्रान्सफर्मर साइडबाट स्वीच अफ गर्नुपर्‍यो’, महर्जनले भने । अहिले वैकल्पिक व्यवस्थाबाट आपूर्ति मिलाइएको उनले बताए । टेकु सबस्टेसनबाट एउटा फिडर र बाँकी तीनवटा फिडर स्युचटार सबस्टेसनबाट आपूर्ति व्यवस्था मिलाइएको महर्जनले बताए । 

परीक्षणको क्रममा आगलागी भएको हुँदा त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिएर जलेका उपकरण प्रतिस्थापन गर्ने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । 

उनका अनुसार फिडरहरूमा विद्युत् दिने र काट्ने कार्यका लागि प्रयोग हुने ब्रेकर प्यानलको स्वीच सञ्चालन गर्न खोज्दा ‘स्पार्क’ भएर उक्त प्यानलमा आगलागी भएको थियो ।

‘प्राविधिक त्रुटीका विषयमा ठेकेदारसँग छलफल गरी सत्यतथ्य पत्ता लगाई आउने दिनमा यस्तो घटना हुन दिइने छैन’, शाक्यले भने । उक्त प्रसारण लाइन निर्माण ठेकेदार हाइटेन्सन स्वीचगियरले निर्माण गरेको हो ।

अण्डरग्राउण्ड केबलिङका कारण सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण अवस्था देखिएको ऊर्जा विज्ञहरूले बताएका छन्  । प्राधिकरणको पावर सिस्टमको गहिरो अध्ययन आवश्यक रहेको उनीहरू बताउँछन् । यसले धनजनमा गम्भीर क्षति पुर्‍याउने सम्भावना रहेको विज्ञहरूको चिन्ता छ । 

salt training

कमेन्ट गर्नुहोस्