नेकपा एमालेले चैत १५ गते भएको भएको विध्वंसात्मक घटनाको विषयमा पूर्व राजाले गाह्रो मानीमानी दुःख व्यक्त गरेको जनाएको छ । तर घटनाको मुख्य जिम्मेवारी नलिने र जवाफ दिनबाट पन्छिएको टिप्पणी गरेको छ ।
‘१५ गतेको घटनाबारे पूर्व राजा ज्ञानेन्द्रले गाह्रो मानीमानी दुःख प्रकट गर्नुभयो । तर जिम्मेवारी लिनुभएन । मलाई साथ दिनु भनिसकेपछि उहाँले कमान्ड तोकिसकेपछि उहाँकै कमाण्डको नेतृत्वमा चैत १५ गते यी सबै कुरा भइसकेपछि उहाँ जवाफदेही बन्नुपर्थ्यो,’ सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उहाँ जवाफ दिनबाट पन्छिनुभयो । यत्रो ठूलो घटना घटे पनि उहाँको अभिव्यक्तिमा स्वीकार्नुभएन । हिँडेको बाटो अनावश्यक र व्यर्थको प्रयत्न रहेछ, जिम्मा दिएका व्यक्ति पनि गलत रहेछन् भन्नुपर्ने थियो । यसैले मुलुकको प्रणालीलाई सघाएर अगाडि बढ्छु भन्नुपर्ने थियो ।’
तर पछुताउनुपर्नेमा उल्टै अहिलेको तन्त्रलाई दोष दिएको भन्दै ज्ञवालीले आपत्ति जनाए । ‘अहिलेको समातेको बाटो गलत रहेछ भनेर पछुतो मान्नुपर्ने हो । तर उहाँले जनताको असन्तुष्टि नसुन्नेलाई कुनै तन्त्र हुँदैन भन्नुभयो,’ ज्ञवालीले भने, ‘उहाँको शासनका के थियो ? उहाँको नेतृत्वका तन्त्रको सबै अधिकार खोजेपछि जनता गणतन्त्र गएका होइनन् ? दुई/दुईपटक राजतन्त्रसँग सम्झौता गरिएको होइने ? यसैले उहाँको मनमा अझै पनि गणतन्त्रलाई बदल्न सकिन्छ कि भन्ने आशा देखिन्छ भने त्यो गलत हुनेछ ।’