०७ साउन २०८३, बिहीबार

१७ वर्षअघि भएको मुम्बई हमलाका आरोपी तहव्वुर राणाको 'पाकिस्तान कनेक्सन'

बैशाख २, २०८२
काठमाडौं
१७ वर्षअघि भएको मुम्बई हमलाका आरोपी तहव्वुर राणाको 'पाकिस्तान कनेक्सन'

पाकिस्तानमा जन्मिएका क्यानेडाली नागरिक तहव्वुर हुसैन राणाको भारत सुपुर्दगीले सन् २००८ को मुम्बई आतंकवादी आक्रमणका पीडिलाई न्याय दिलाउने दिशामा महत्त्वपूर्ण कदम बनेको छ ।

२००८ को उक्त आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए । राणामाथि यो हमलामा महत्त्वपूर्ण भूमिका खेलेको आरोप छ ।

अमेरिकाबाट गरिएको उनको सुपुर्दगीले उनको पाकिस्तानको गुप्तचर संस्था इन्टर-सर्भिसेज इन्टेलिजेन्स (आईएसआई) र आतंकवादी संगठन लश्कर-ए-तोएबा(एलईटी)सँगको सम्बन्धलाई पुनः चर्चामा ल्याएको छ ।

भारतले उनलाई मुद्दा चलाउने तयारी गरिरहँदा पाकिस्तानको संलग्नताबारे ठूलो खुलासा हुने आशंका बढेको छ ।

को हुन् राणा?

तहव्वुर राणा एक पाकिस्तानी मूलका क्यानेडाली व्यवसायी र पूर्वसैनिक हुन् । उनले क्यानडामा इमिग्रेसन सेवा कम्पनी सञ्चालन गर्थे । उनको मुम्बई आक्रमणमा संलग्नताको आरोपले उनलाई अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनायो ।

राणामाथि लश्कर-ए-तोइबालाई सहयोग गरेको र आक्रमणको योजना बनाउन सहायता पुर्याेएको आरोप छ । मुम्बई आक्रमणको पूर्वसर्वेक्षण गरेका डेभिड कोलम्यान हेडलीसँगको उनको सम्बन्धले हेडलीको भूमिकालाई थप शंकास्पद बनाएको छ ।

राणालाई सन् २००९ मा अमेरिकामा पक्राउ गरिएको थियो । उनलाई डेनमार्कमा पत्रिका कार्यालयमा आक्रमणको योजना बनाएको र मुम्बई आक्रमणमा संलग्न भएको आरोपमा सन् २०१३ मा १४ वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०२० मा उनको जेल सजाय छोट्याइएपछि भारतले उनको सुपुर्दगीको माग तीव्र बनाएको थियो । लामो कानुनी लडाइँपछि सन् २०२५ मा अमेरिकी अदालतले उनलाई भारत सुपुर्दगी गर्ने निर्णय गर्यो ।

मुम्बई आक्रमणमा राणाको भूमिका

सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी आक्रमणले विश्वलाई स्तब्ध बनाएको थियो । लश्कर-ए-तोइबाका १० आतंककारीले ताजमहल होटल, ओबेरोय ट्राइडेन्ट होटल, छत्रपति शिवाजी टर्मिनल र अन्य स्थानमा अन्धाधुन्ध गोलीबारी र बम विस्फोट गरेका थिए ।

यो आक्रमणको योजना बनाउन राणाले आफ्नो इमिग्रेसन कम्पनीलाई आड बनाएर आतंककारीलाई सहयोग गरेको भारतीय अनुसन्धानकर्ताको दाबी छ ।

राणाले डेभिड हेडलीलाई मुम्बईमा आक्रमणको लक्ष्यहरूको सर्वेक्षण गर्न भारत प्रवेशका लागि आवश्यक कागजात र सूचना दिएको आरोप छ ।

हेडलीले मुम्बईका प्रमुख स्थानको भिडियो र तस्बिर संकलन गरेका थिए, जसको आधारमा लश्करले आक्रमणको योजना बनाएको थियो ।

राणाको कम्पनीले हेडलीलाई व्यापारिक भिसा र अन्य सुविधा उपलब्ध गराएर आतंककारी गतिविधिलाई सहज बनाएको भारतीय अधिकारीको भनाइ छ ।

पाकिस्तासँगको सम्बन्ध

राणाको सुपुर्दगीले मुम्बई आक्रमणमा पाकिस्तान संलग्न भएको विषयलाई पुनः सतहमा ल्याएको छ । भारतीय र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले राणा र हेडलीमार्फत लश्कर-ए-तोइबालाई पाकिस्तानी गुप्तचर संस्था आईएसआईले सहयोग गरेको आशंका व्यक्त गरेका छन् ।

हेडलीले आफ्नो बयानमा आईएसआईका केही अधिकारीहरूले आक्रमणको योजना बनाउन प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेको खुलासा गरेका थिए ।

राणाको पाकिस्तानी सेनामा काम गरेको पृष्ठभूमि र उनको लश्करसँगको सम्पर्कले यी आशंकालाई बल पुर्याकएको छ । भारतीय गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले भनेका छन्, 'राणाको सुपुर्दगीले मुम्बई आक्रमणमा पाकिस्तानको भूमिकालाई थप पुष्टि गर्न सक्छ । उनको बयानले आईएसआई र लश्करबीचको समन्वयलाई उजागर गर्न सक्छ ।'

पाकिस्तानले भने राणालाई 'आतंककारी' भन्न अस्वीकार गरेको छ र उनको सुपुर्दगीको विरोध गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले यो कदमलाई 'भारतको राजनीतिक प्रचार' भनेर खारेज गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

राणाको सुपुर्दगीलाई भारतमा आतंकवादविरुद्धको लडाइँमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ । इजरायली राजदूत नोर गिलोन अजरले आतंककारीलाई न्यायको कठघरामा ल्याउने भारतको दृढताको प्रशंसा गरेका छन् ।

'भारतले आतंकवादविरुद्धको लडाइँमा कुनै कसर बाँकी राखेको छैन । राणाको सुपुर्दगीले आतंकवादीलाई कुनै पनि ठाउँमा लुक्न नदिने सन्देश दिएको छ,' उनले भनेका छन् ।

अमेरिकाले पनि यो सुपुर्दगीलाई समर्थन गरेको छ, जसले भारत र अमेरिकाबीचको आतंकवादविरुद्धको सहकार्यलाई बलियो बनाएको छ ।

यद्यपि, राणाको मुद्दाले भारत–पाकिस्तान सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने विश्लेषकहरूको चेतावनी छ ।

राणाको सुपुर्दगीलाई मुम्बई आक्रमणका पीडित परिवारहरूले स्वागत गरेका छन् । 'हाम्रा प्रियजनलाई गुमाएको १७ वर्षपछि पनि हामीले न्यायको आशा राखेका थियौं । यो कदमले हामीलाई थोरै भए पनि राहत दिएको छ,'  पीडित परिवारका एक सदस्यको भनाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

राजनीतिक वृत्तमा यो विषयले ठूलो चर्चा पाएको छ । भारतीय जनता पार्टी (भाजपा)ले सरकारको आतंकवादविरुद्धको 'शून्य सहनशीलता' नीतिको प्रशंसा गरेको छ, भने विपक्षी दलहरूले यो मुद्दालाई कूटनीतिक रूपमा अघि बढाउन सुझाव दिएका छन् ।

'राणाको मुद्दाले पाकिस्तानलाई जवाफदेही बनाउनुपर्छ, तर यो कदमले क्षेत्रीय तनाव नबढोस् भन्नेमा ध्यान दिनुपर्छ,' विपक्षी दलका नेताहरूको भनाइ छ ।

अबको बाटो

राणाको सुपुर्दगीपछि भारतीय अदालतमा उनको मुद्दा कसरी अघि बढ्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ । उनको बयानले मुम्बई आक्रमणको योजना, सञ्जाल र समर्थन प्रणालीबारे नयाँ तथ्यहरू खुलासा गर्न सक्छ ।

यस्ता खुलासाले पाकिस्तानको आतंकवादी समूहसँगको सम्बन्धलाई विश्व समुदायसामु थप उजागर गर्न सक्ने विश्लेषकहरू बताउँछन् ।

भारत सरकारले राणाको मुद्दालाई पारदर्शी र निष्पक्ष रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । गृहमन्त्री अमित शाहले एक कार्यक्रममा भनेका छन्, 'मुम्बई आक्रमणका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन हामी प्रतिबद्ध छौं । राणाको सुपुर्दगी यो दिशामा एउटा महत्त्वपूर्ण कदम हो ।'

राणाको सुपुर्दगीले मुम्बई आक्रमणको घाउलाई पुनः स्मरण गराएको छ । यो आतंकवादविरुद्धको लडाइँमा भारतले गरेको एउटा ठूलो प्रयास रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको पाकिस्तानी सम्बन्ध र लश्कर-ए-तोइबासँगको संलग्नताले विश्व समुदायको ध्यान खिचेको छ । यो मुद्दाले मुम्बईका पीडितहरूलाई न्याय दिलाउने मात्र नभई आतंकवादको जरा उखेल्ने भारतको प्रयासलाई पनि बल प्रदान गर्नेछ ।

कमेन्ट गर्नुहोस्