
चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । जसका कारण कतिपय विद्यालयको वार्षिक परीक्षाफल प्रशासन हुन सकेको छैन भने मंगलबारदेखि तय भर्ना अभियान पनि प्रभावित भएको छ ।
यतिमात्र होइन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट आधारभूत तहमा परीक्षा दिएका सयौं विद्यार्थी आफ्नो अनुत्तीर्ण भएको विषयको पुनर्योग गराउन समस्या झेलिरहेका छन् ।
सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलनमा रहेको समयमा वीरेन्द्रनगर नगर शिक्षा शाखाले चैत २८ गते कक्षा ८ को नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएसँगै वैशाख २ गते मंगलबारसम्म विद्यार्थीलाई पुनर्योग गराउने भए निवेदन दिन भन्दै सोही दिन नगर शिक्षा समितिले सूचना जारी गरेको थियो ।
उक्त सूचनामा विद्यालयको सिफारिस अनिवार्य गरिएको छ भने विद्यार्थीको हस्तलिखित निवेदन, प्रवेश पत्रको फोटोकपी र एक सय रूपैँया शुल्क तिर्नुपर्ने उल्लेख छ । तर, शिक्षक-कर्मचारी काठमाडौं केन्द्रित आन्दोलनमा हुँदा विद्यार्थीले समस्या भोगिरहेका छन् ।
‘हाम्रो विद्यालयमा शिक्षक र कर्मचारीलाई खोज्दाखोज्दा हैरान भएँ । मलाई गणित विषयमा अनुत्तीर्ण देखाइएको छ । त्यो विषयको मैले पुनर्योग गर्न खोजेको थिएँ । तीन दिन विद्यालयमा गइसकेपछि आज बल्ल बल्ल विद्यालयको सिफारिस बनाएर म यहाँ आएको हुँ’, नाम उल्लेख नगर्ने शर्तमा धुलियाबिटका एक विद्यार्थीले भने, ‘धेरै झन्झट हुँदो रहेछ । विद्यालयका शिक्षकले नै विद्यालयमा पुनर्योग गर्न चाहने विद्यार्थीको डकुमेन्ट संकलन गरेर नगर शिक्षा शाखामा ल्याइदिएको भए हामीलाई राहत हुन्थ्यो ।’
नगर शिक्षा शाखामा भने अहिले सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अभिभावकसँगै निवेदन बोकेर आइरहेका छन् । उता, वीरेन्द्रनगरभित्र रहेका निजी तथा संस्थागत विद्यालयले भने शिक्षकलाई नै नगर शिक्षामा खटाउने गरेको पाइएको छ ।
वीरेन्द्रनगरमा सामुदायिक, निजी र संस्थागत गरि कूल १०० विद्यालयले यस वर्षको कक्षा आठको परीक्षा दिलाएका थिए । झण्डै ५५ सय विद्यार्थीले यो वर्ष कक्षा आठको परीक्षामा सहभागिता जनाएका थिए ।
यी विद्यार्थीको परीक्षा व्यवस्थापनदेखि सञ्चालन गर्ने गरेको वीरेन्द्रनगर नगरपालिकामा हाल तीन जना मात्रै कर्मचारी छन् । शाखा प्रमुख धीरेन्द्र शर्मा, प्रमुख शिक्षा अधिकृत दीपक कुमार शाही र विद्यालय निरीक्षक रामलाल आचार्यले नगर शिक्षा धानिरहेका छन् ।
‘प्रश्नपत्र निर्माण गर्ने, छपाइ गर्ने, ग्रेडसिट तयार पार्नेदेखि छपाउने, ईएमआईएस व्यवस्थापन गर्ने, कर्मचारी खटाउनेदेखि शिक्षासँग सम्बन्धित सबै काम गर्नुपर्ने दायित्व नगर शिक्षामा छ’, प्रमुख शिक्षा अधिकृत शाहीले भने, ‘यतिसम्मकी यहाँ कार्यरत तीनै जना अधिकृत तहका मात्रै छौं । तल्लो तहका कर्मचारी हामीसँग छैनन् । कुनै कुनै जिल्लाभरिका कक्षा आठका विद्यार्थी जति वीरेन्द्रनगर नगरपालिकामा नै छन् । कम्तीमा विद्यार्थीका संख्या हेरेर कर्मचारी खटाइदिएको भए काममा चुस्तता आउने थियो ।’
शाखा प्रमुख धिरेन्द्र शर्माले नगर शिक्षामा धेरै कामको चाप भएपनि कर्मचारी भने कम रहेको बताए । ‘कामको चाप हेर्नुहोस् न, नगरपालिकाका हजारौं विद्यार्थीहरूको नतिजा प्रकाशन गर्नेदेखि पुनर्योग गराउने, प्रश्नपत्र निर्माण गरि पूरक परीक्षा दिन लगाउने अनि त्यसको पनि नतिजा निकाल्ने’, उनले भने, ‘त्योबाहेक अन्य कार्यहरू पनि हुन्छन् । बजेट बनाउने, विभिन्न कार्यक्रम तयार गर्ने, शैक्षिक क्यालेन्डर निर्माण गर्ने, विद्यालयको अनुगमन गर्नेदेखि धेरै काम यही शाखाबाट गर्नुपर्ने हुन्छ ।’
उनले यो शाखामा अन्य शाखाकै जस्तो कर्मचारी राख्न नमिल्ने बताए । धेरै काम गर्नुपर्ने शाखा भएको हुँदा कर्मचारी थप भएको भए काम गर्न सहज हुने उनले बताए । शर्माले नगरपालिकामा कर्मचारी थपका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरेको बताए ।