
बिल बिजकबिनाका एक किलोभन्दा बढी सुन र १८ किलो चाँदीसहित ९ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी, कपन र चाबहिल क्षेत्रमा सुन रिफाइनिङ एन्ड टंच सेन्टर खोलेर बसेका उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका नबनाथ बाकु कसिद, सन्दीप पोपट हजारे, अन्सार दिलावर सिकल्गार, सुरज राजेश मदने, अरमान हनिफ इनामदाय, मनोज सुवास सकट, अमोल कुमार गोस्ले, सुनिल मिटकरी र सुरज नन्दीवाली छन् ।
उनीहरूले सञ्चालन गरेको टंच हाउसमा कुनै रेकर्ड नराख्ने गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार जोरपाटी, कपन र चाबहिल क्षेत्रमा सञ्चालित टंच हाउसबाट बिलबिजक नभएका एक किलो ७६ ग्राम ५१८ मिलिग्राम सुन, १८ किलो ४५ ग्राम ५२९ मिलिग्राम चाँदी, नगद नेपाली ८ लाख २७ हजार पाँच सय र ११ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरिएको छ ।
यो समूह विगत लामो समयदेखि उक्त क्षेत्रमा सुन र चाँदीका गरगहना पगाल्ने काम गर्दै आएका थिए ।