
पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पु-याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
जिल्लाका आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिबीच आज बैठक बसेको थियो । सो बैठकबाट सदियौँदेखि समाज आपसी भाइचारा, सामाजिक र धार्मिक सद्भावसँग मिलेर बसेको हुनाले सोलाई खण्डित गर्ने अभिव्यक्ति, टिप्पणी कुनैपनि पक्षबाट नगर्न दलहरुले आग्रह गरेका हुन् ।
हनुमान जयन्तीको शोभायात्रामा भएको घटनाबाट विगत केही दिनदेखि वीरगञ्ज महानगर आसपासका क्षेत्रमा भइरहेको सामुदायिक विवाद, आपसीद्वन्द्व र मनमुटावप्रति सर्वदलीय बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग आग्रह गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हरि पन्तले जानकारी दिए ।