०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

गठबन्धनमा समस्या नरहेको दाबी, एसएमएस पठाएर रकम चोरी

बैशाख ४, २०८२
काठमाडौं
गठबन्धनमा समस्या नरहेको दाबी, एसएमएस पठाएर रकम चोरी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कांग्रेस नेता तथा  गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस(एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लेखकले गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका हुन् । 

‘सरकार राम्रैसँग अगाडि बढिरहेको छ । हाम्रा बीचमा कुनै समस्या छैन । दुई दलका बीचका कुनै समस्या भयो कि भन्ने कुरा बाहिर आएका छन् । तर, हामीबीच केही भएको छ’, उनले दाबी गरे ।
००००
विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको रिटको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राथमिकता दिएको छ ।

बुधबार मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले हेर्दाहेर्दैमा राखेको छ । अर्को पेसी यही वैशाख ७ गते आइतबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल जानकारी दिए ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ५०औं दीक्षान्त समारोहका लागि गाउन लिन जम्मा गरिएको धरौटी रकम अनलाइनमार्फत फिर्ता गर्न सकेको छैन । 

पटक–पटक बैंकमार्फत् कनेक्ट आईपीएस प्रणाली प्रयोग गरेर रकम फिर्ता गर्ने प्रयास गरिए पनि विभिन्न कारणले केही विद्यार्थीको रकम फिर्ता हुन नसकेको त्रिविले जनाएको छ।

 धरौटी रकम फिर्ता हुन बाँकी रहेका विद्यार्थीहरूलाई यही वैशाख १५ गतेभित्र बैंक खाता र व्यक्तिगत विवरण बुझाउन त्रिविले आग्रह गरेको छ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवालाई दुव्र्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीन जना प्रहरीमाथि घटनाको छानबिन थालिएको जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादी पार्टीले यही वैशाख ९ गते काठमाडौँमा कार्यकर्ता भेला गर्ने भएको छ ।

पार्टीले कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षका अवसरमा भेला आह्वान गरेको हो । भेलामा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।
००००
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

 नेपाल महिला सङ्घ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको भन्दै २० केन्द्रीय सदस्यले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा बुझाएका हुन् ।
००००
सरकारले दिनै तोकेर संसद् अधिवेशन आह्वान गर्ने र शिक्षा विधेयकलाई पारित गर्ने प्रक्रियामा अगाडि बढाउने निर्णय गरे पनि शिक्षकहरूले आन्दोलन जारी राखेका छन् ।

मंगलबार मध्यरातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते शुक्रबार संसद् अधिवेशन आह्वान गर्ने र शिक्षा विधेयक अगाडि बढाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको थियो । 
००००
चार हजारभन्दा बढी ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले कञ्चनपुरका २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको छ ।

अनामनगर बस्ने बुढाले ईसेवा प्रयोगकर्तालाई एटी अलर्ट  एसएमएममार्फत फिसिङ लिंक पठाउँथे । प्रयोगकर्ताले उक्त लिंक क्लिक गर्ने बित्तिकै उसको खाताबाट सबै रकम चोरी हुन्थ्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार बुढाले  फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउने गरेको खुलेको छ ।

प्रयोगकर्ताले लिंक खोल्ने बित्तिकै पैसा चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरूको ईसेवामा मौज्दात रहेको रकम चोरी गरेका थिए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ ।

बुधबार तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को बजेट अधिवेशन आह्वान गरेका छन् । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा यही वैशाख १२ गते दिउँसो १ बजेका लागि राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्