२६ असार २०८३, शुक्रबार

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा पाण्डे

बैशाख ५, २०८२
काठमाडौं
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा पाण्डे

नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)को अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । काठमाडौंमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट पाण्डे अध्यक्षमा चयन भएका हुन् । 

उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, सचिव (संगठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ)मा चन्द्रकुमार महतरा निर्वाचित भएका छन् । 

महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन् । महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ ।

महाधिवेशनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताएका थिए ।

एमालेले सामाजिक सद्भाव कायम गराउने कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिएका थिए । 

रक्षामन्त्री मानवीर राईले नेपोनले विपद्को समयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोप्रति विश्वास व्यक्त गर्दै जीवनको ऊर्जाशील समय देशको सुरक्षामा खटेर बिताउनु सराहनीय भएको बताए । 

नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपोनले राष्ट्रका सुरक्षा समस्या पहिचान गर्ने तथा समस्या न्यूनीकरणमा मद्दत गर्ने भूतपूर्वहरूको अभूतपूर्व क्षमतालाई सुरक्षा र विकासमा जोड्न पहल गर्ने प्रतिबद्धता जनाए । 

उनले राष्ट्रको सार्वभौमिकता र स्वाधीनतालाई अक्षुण्ण राख्दै सामाजिक मूल्य र मान्यतालाई दिगो बनाउनेलगायत महत्त्वपूर्ण विषयमा संस्थाको समन्वयपूर्ण भूमिका रहने बताए । 

अध्यक्ष पाण्डे अवकाश प्राप्त सहायक रथी हुन् । २०७८ चैत १६ मा सम्पन्न पाँचौं महाधिवेशनबाट उनी पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्