१० असार २०८३, बुधबार

१४ रोपनीमा अर्गानिक फार्म, कृषि पर्यटनबाट बढ्यो रोजगारी

बैशाख ५, २०८२
काठमाडौं
१४ रोपनीमा अर्गानिक फार्म, कृषि पर्यटनबाट बढ्यो रोजगारी

काठमाडौंको बूढानीलकण्ठस्थित आकासे धारामा फैलिएको १४ रोपनी क्षेत्रफलको अर्गानिक फार्म हाउस पछिल्ला दिनमा एक आकर्षक कृषि पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

ताप्लेजुङकी बन्दी शेर्पाले सञ्चालन गर्दै आएको उक्त फार्म हाउसले हाल आठ जनालाई रोजगारी पनि दिएको छ । करिब १५ वर्षदेखि सञ्चालित यो फार्ममा नियमित रूपमा गाईपालन, बाख्रापालन र अर्गानिक तरकारी खेती हुँदै आएको छ । 

शेर्पाले फार्मसँगै अर्गानिक रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । यहाँ फार्ममा उत्पादित ताजा र अर्गानिक सामग्री प्रयोग हुँदै आएको उनले बताए । उनका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले स्वस्थ, स्वादिलो र पौष्टिक परिकारको स्वाद लिन पाउनेछन् ।

बिदा तथा विशेष दिनमा सयौंको सङ्ख्यामा पर्यटक र आगन्तुकको घुइँचो लाग्ने गरेको भन्दै शेर्पाले भने, 'कृषिलाई केवल खेतमा सीमित नराखी, पर्यटन र रेस्टुरेन्टमार्फत नयाँ ढङ्गले प्रस्तुत गर्दा आम्दानीको प्रशस्त स्रोत बन्न सक्छ ।'

उनका अनुसार फार्म हाउसबाट वार्षिक लाखौंं आम्दानी भइरहेको छ । ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको उनको भनाइ छ ।

'विदेश पलायन होइन, देशमै केही गर्ने आँट र इमान्दारी भए यहाँ पनि सुन फल्छ,' शेर्पाले युवाहरूलाई आग्रह गर्दै भने, 'अर्गानिक कृषि र पर्यटनको संयोजन भविष्य हो । यसमा लगानी र मेहनत गरे सफल बन्न सकिन्छ ।'

फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरता तर्फको बाटो खोलिदिएको उनले बताए । यस्ता लघु उद्यमले नेपालको ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सक्ने सम्भावना बोकेको देखिन्छ ।

यस्ता उद्यमलाई सरकारी सहयोग, प्रविधि हस्तान्तरण, र बजार पहुँचको सहयोग मिल्यो भने नेपालमा अर्गानिक कृषि र कृषि पर्यटनले राष्ट्रिय अर्थतन्त्रलाई उल्लेखनीय गति दिन सकिने उनको धारणा छ ।

salt training

कमेन्ट गर्नुहोस्