०९ साउन २०८३, शनिबार

वर्षाले नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित

बैशाख ६, २०८२
काठमाडौं
वर्षाले नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित

आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाले प्रभावित भएको छ । 

तल्लो मूलपानी क्रिकेट रंगशालामा अहिले पनि पानी परिरहेको छ । वर्षाका कारण खेल निर्धारित समयमा शुरू हुन सकेको छैन । खेल आज बिहान साढे ९ बजेदेखि हुने तय थियो । 

पछिल्ला ३ वटै खेलमा जीत निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने दबाब छ । 

यो खेल जित्ने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । 

प्रतियोगितामा‌ नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जीत निकालेका थिए । ३ खेलबाट दुवै टोलीले समान ६ अंक जोड्दै शीर्ष दुईमा पक्का गरेका हुन् । 

अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जीत निकालेका कारण नेट रनरेटमा‌ नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र‌ हराएको थियो भने अफगानिस्तानले यूएईलाई १८० रनले हराएको थियो । 

त्यसकारण वर्षाका कारण खेल रद्द भयो भने अफगानिस्तान विश्वकपमा छनोट हुनेछ । नेपालका लागि चाहिँ खेल हुनैपर्ने र जित्नैपर्ने दबाब छ । 

नेपालले यूएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र यूएईलाई १८० रनले पराजित गरेको थियो । 

अघिल्लोपटक २०२४ मा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । 

छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानबीच ३ खेलको एकदिवसीय सिरिज भएको थियो । उक्त सिरिजको दुई खेलमा अफगानिस्तान र एक खेलमा नेपाल विजयी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्