
चन्डी राई संविधानसभाका सदस्य हुन् । शिक्षक हुँदै संविधान बनाउने महत्त्वपूर्ण भूमिका खेलेका राईको आजभोलि दिनचर्या फेरिएको छ । सांसद भएकाहरू शहर बजारमा बस्दा उनी भने गाउँमै रमाइरहेका छन् ।
खोटाङको साकेला गाउँपालिका- २ मा २०१७ सालमा जन्मिएका राईको जीवनयात्रा एउटा सामान्य ग्रामीण परिवेशबाट शुरू भयो । उनको जीवनमा शिक्षण पेसा र राजनीतिबीचको संघर्षमा सफलताको कहानी छ ।
चन्डी राईले आफ्नो प्रारम्भिक शिक्षा खोटाङको साल्मे प्राथमिक विद्यालयबाट शुरू गरे । मामाघर नजिकै विद्यालय भएका कारण उनले कक्षा ५ सम्म त्यहीँ अध्ययन गरे । सापसु खोलाको बगर नजिकै उनको परिवारको जग्गा थियो र खेतीपाती नजिकै मामाघर भएकाले त्यहाँ बसेर पढ्ने अवसर पाए ।
ग्रामीण क्षेत्रमा त्यसबेला शिक्षाको पहुँच निकै सीमित थियो । तर, चन्डीमा भएको पढ्ने चाहनाले उनलाई अघि बढ्न प्रेरित गर्यो ।
कक्षा ६ र ७ का लागि उनी साकेला माध्यमिक विद्यालयमा गए । उनको घरदेखि मात्र १५ मिनेटको दूरीमा थियो विद्यालय । त्यस समयमा ६/७ कक्षासम्म पढाइ हुने विद्यालयलाई ‘मिडल’ स्कूल भनिने राई सम्झिन्छन् ।
कक्षा ८ देखि १० सम्मका लागि उनी खोटाङको दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा भर्ना भए । यहाँ उनी कोठा भाडामा लिएर बसे । २०३४ सालमा उनले दोस्रो डिभिजनमा एसएलसी परीक्षा उत्तीर्ण गरे । जुन त्यस समयको गाउँ समाजमा ठूलो उपलब्धि मानिन्थ्यो ।
गाउँलेहरूले उनको सफलताको उत्सव मनाए । ‘त्यस समयमा एसएलसी पास गर्नु भनेको ठूलो सफलता थियो’, राई भन्छन् ।
एसएलसी पास गरेपछि गाउँमा शिक्षकको अभाव भएकाले चन्डीलाई मनकामना निम्न माध्यमिक विद्यालयमा पढाउन अनुरोध गरियो । सात महिनासम्म त्यहाँ अध्यापन गरेपछि २०३६ सालमा उनी उच्च शिक्षाका लागि धरान झरे ।
धरानस्थित हात्तीसार क्याम्पस (त्यसबेला धरान क्याम्पस भनिन्थ्यो)मा उनी प्राविधिक शिक्षा पढ्न चाहन्थे । तर, दोस्रो सेमेस्टरमा आइपुग्दा त्रिभुवन विश्वविद्यालयले नीति परिवर्तन गरेर प्रवीणता प्रमाणपत्र तहमा प्राविधिक शिक्षा हटाइदिएको उनले बताए । यसपछि उनले आईएस्सी अध्ययन गरे । नीतिगत परिवर्तनले उनको शैक्षिक योजना परिवर्तन गर्नुपरे पनि हार मानेनन्, बरु अन्य विकल्प रोजेर अघि बढे ।
धरानमा अध्ययनरत रहँदा २०३६ सालमा ठूलो विद्यार्थी आन्दोलन चलिरहेको थियो । क्याम्पसमा अखिलका कार्यक्रम हुने गर्थे । यही माहोलमा उनी राजनीतिमा आकर्षित भए । धरानको वातावरणले उनको राजनीतिक चेतना जागृत गर्न मद्दत गर्यो ।
तीन वर्षपछि, २०३९ सालमा उनले आईएस्सी पूरा गरे। सामान्यतया दुई वर्षमा पूरा हुने कोर्स उनले तीन वर्षमा पूरा गरे । विद्यार्थी आन्दोलनका कारण समयमा परीक्षा नभएपछि रोकिएको थियो ।
आईएस्सी सकेपछि चन्डी आफन्तहरूको खोजीमा मोरङको पथरी पुगे, जहाँ उनका दिदी तथा काकाहरू बस्थे । यो उनको मधेश क्षेत्रसँगको पहिलो परिचय थियो । पहाडी क्षेत्रमा हुर्केका उनका लागि मधेशको समाज, संस्कृति र जीवनशैली नयाँ अनुभव थियो । यसले उनलाई नेपालको विविधता र बहुसांस्कृतिक पक्षसँग जोड्यो ।
त्यहाँ पुगेलगत्तै शनिश्चरे गाउँ पञ्चायतको सिंहवाहिनी निम्न माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको आवश्यकता रहेछ भन्ने थाहा पाए । उनका काकाले उनलाई त्यहाँ लगे र तुरुन्तै नियुक्ति दिइयो । शुरूमा उनले निजी स्रोतमा एक वर्ष काम गरे ।
निजी स्रोतमा काम गर्दा आर्थिक अनिश्चितता र कठिनाइको सामना गर्नु परेको थियो । समयमा तलब नपाउने, भत्ता नहुने जस्ता समस्याहरू थिए । तर, यी सबै चुनौतीहरूका बाबजुद उनले आफ्नो कामप्रतिको प्रतिबद्धता कायम राखे ।
२०४० सालमा त्यही विद्यालयमा सरकारी कोटाको शिक्षक पद खुल्यो । निजी स्रोतमा काम गर्दा तलब र सुविधाको अनिश्चितता भएकाले उनले त्यस पदका लागि आवेदन दिए । पाँच जना उम्मेदवारबीच उनको नाम छानियो र २०४० सालदेखि त्यही विद्यालयमा निरन्तर काम गरे ।
पछि उनी त्यस विद्यालयको प्रधानाध्यापक समेत बने । शिक्षकको रूपमा उनले लामो समय बिताए । शिक्षण पेशामा रहँदै चन्डी राई तत्कालीन नेकपा मालेसँग सक्रिय रूपमा जोडिए । धरानमा पढ्दाखेरी नै विद्यार्थी राजनीतिमा जोडिइसकेका थिए ।
२०४६ सालअघि राज्यले कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको थियो । त्यसैले उनी भूमिगत शैलीमा संगठन बनाउने काममा सहभागी भए । यस्तो जोखिमपूर्ण काममा संलग्न हुनु उनको राजनीतिक प्रतिबद्धताको प्रमाण थियो ।
२०४६ सालपछि खुला रूपमा राजनीति गर्न पाएपछि उनी कम्युनिस्ट आन्दोलनमा सक्रिय भए । शिक्षकको रूपमा र राजनीतिक कार्यकर्ताको रूपमा दोहोरो भूमिका निभाउनु सजिलो थिएन । तर, उनले दुवै क्षेत्रमा सन्तुलन कायम गर्न सफल भए ।
आफ्नो राजनीतिक क्रियाकलापका कारण उनी पक्राउ समेत परे । जागिर गए जाओस् भन्ने विचारले आन्दोलनमा सक्रिय भएको राई बताउँछन् । आफ्नो राजनीतिक गतिविधिले विद्यालयलाई असर भने नपारेको उनको दाबी छ । शिक्षण कार्य र राजनीतिबीच सन्तुलन कायम गर्न उनले अतिरिक्त समय निकालेर राजनीतिक गतिविधिमा भाग लिन्थे ।
२०७० सालसम्म उनले लगातार शिक्षक पदमा काम गरे । त्यसपछि उनलाई संविधानसभाको दोस्रो निर्वाचनमा टिकट दिएको थियो । जुन उनका लागि अप्रत्यासित थियो । उनले आफैं भने ‘म चुनाव लड्छु, पार्टीले टिकट दिन्छ, म सांसद हुन्छु भन्ने मेरो कल्पनामा पनि थिएन ।’
उनी मोरङ क्षेत्र नम्बर २ बाट चन्द्रशेखर थापालाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भए । थापाको हाल निधन भइसकेको छ । यो निर्वाचन उनको जीवनको महत्त्वपूर्ण मोड थियो । जसले उनलाई स्थानीय शिक्षकबाट राष्ट्रिय राजनीतिज्ञमा परिवर्तन गर्यो ।
संविधानसभा सदस्यको रूपमा काम गरिसकेपछि चन्डी राईले आफ्नो जीवनमा नयाँ पाटो थपेका छन् । एक वर्षअघि उनले भैँसी पालन व्यवसाय शुरू गरे । अहिले उनी दैनिक ४० लिटर दूध बिक्री गर्छन् । राजनीति र जीविकोपार्जन दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउने उनको प्रयास छ ।
राजनीति गर्नेहरू पनि उद्यमशील बन्नुपर्ने उनि बताउँछन् । उनले चुनावका लागि लिएको ऋण अझै तिरिनसकेको बताए । ‘पहिला पहिला राजनीति गर्नेहरूले जग्गा जमिन बेचेर सुकुम्बासी बनेका घटनाहरू धेरै छन्’, उनले भने ‘तर, अहिले राजनीति गर्नेमाथि भ्रष्टाचारको प्रश्न उठिरहेको छ । त्यसैले राजनीति गर्नेले उत्पादनसँग जोडिनुपर्छ ।’
आज उनी एक सक्रिय राजनीतिकर्मी र उद्यमी दुवै भूमिकामा रहेर समाजमा योगदान दिइरहेका छन् । राजनीति र सामाजिक कार्यमा उनको योगदानले थुप्रै युवाहरूलाई प्रेरित गरेको छ ।
२०१७ सालमा जन्मिएका चन्डी राईले नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण कालखण्डहरू; पञ्चायती व्यवस्था, २०४६ सालको जनआन्दोलन, माओवादी द्वन्द्व, संविधानसभा निर्वाचन सबै पार गरेका छन् ।