०८ असार २०८३, सोमबार

मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ

बैशाख ७, २०८२
धनुषा
मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख १२ गते त्यहाँको मधुवनी जिल्ला भ्रमणमा आउने कार्यक्रम तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

त्यसका लागि नेपाली पक्षसँग समन्वय गर्न शनिबार भारतकै जयनगरमा नेपाल—भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । 

बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता रहेको थियो । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारी, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधि सहभागी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । 

बैठकमा भारतीय प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन दुवै देशका सुरक्षा संयन्त्रबीच पूर्वतयारी, समन्वय र जानकारी आदानप्रदान गरिएको उनले बताए । 

यस्तै, सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षागस्ती बढाउने, सीमा नाका र भन्सार क्षेत्रमा सवारीसाधन तथा व्यक्तिको निगरानी प्रणाली कडा बनाउने विषयमा छलफल भएको थियो । त्यसैगरी गैरकानुनी हतियार, लागुपदार्थ तथा मानव तस्करी नियन्त्रणमा संयुक्त अपरेसन तथा सूचना आदानप्रदान गर्ने, भ्रमण अवधिभर सीमामा विशेष सतर्कता अपनाउने, शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिको निगरानी गर्ने, स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीबीच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक तथा जानकारी आदानप्रदान गर्नेबारे पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्