
तनहुँको डुम्रे–बेँसीशहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।
डुम्रेतर्फ लमजुङ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठक्कर खाँदा माइक्रोबसमा सवार मनाङको नार्फु गाउँपालिका–८ का ४० वर्षीय मन घले तथा स्कुटरमा सवार लमजुङको बेँसीशहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
घलेको लमजुङस्थित नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा तथा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेँसीशहर नगरपालिका–८ का ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।
त्यस्तै दुर्घटनामा माइक्रोबसमा सवार बेँसीशहर नगरपालिकाकी १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गाका ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दुधपोखरी गाउँपालिका–५ की २४ वर्षीया युनिशा गुरुङ, बेँसीशहर–५ की ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीशहर–३ का ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गाका ३५ वर्षीय अलिश शाही, सोलुखुम्बुका ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गाका ३५ वर्षीय अधिस राई तथा गोरखाका ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरूको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बेँसीशहर–२ भकुमथोककी ७८ वर्षीया कृष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा र ३२ वर्षीया मनिका गुरुङको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।
माइक्रोबसका चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।