
ताप्लेजुङको पाथीभरा जाँदै गर्दा गाडीमा करेन्ट लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरूलाई काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडिसकेको छ ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी, एसएसपी भीमबहादुर दाहालले नेपाली सेनाको हेलिकप्टर केही समयपछि ताप्लेजुङ अवतरण गर्ने जानकारी दिए ।
सोमबार बिहान पाथीभरा जाँदै गर्दा फुङलिङ नगरपालिका-१० को सेवारो चोकमा मे १ च ३०११ नम्बरको बोलेरो जीपको छतमा बिजुली तार खसेको थियो । त्यसलगत्तै आगलागी हुँदा चार जनाको मृत्यु भएको थियो ।
घटनामा ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा अभियम घाइते भएका थिए । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिने एसएसपी दाहालले बताए ।
उनीहरूको अहिले ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।