२५ जेठ २०८३, सोमबार
लोकान्तर खोज

वीरको क्यान्टिन ठेक्कामा व्यापक अनियमितता : योग्यतै नपुग्नेलाई छनोट, मिलेमतोमा सम्झौता

अनुभवको प्रमाणपत्रदेखि विभिन्न कागजातमाथि प्रश्न, खाना-खाजाको अस्वाभाविक दररेट प्रस्ताव
बैशाख ८, २०८२
काठमाडौं
वीरको क्यान्टिन ठेक्कामा व्यापक अनियमितता : योग्यतै नपुग्नेलाई छनोट, मिलेमतोमा सम्झौता

चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालमा चमेना गृह सञ्चालनका लागि गरिएको ठेक्का सम्झौतामा व्यापक अनियमितता भएको पाइएको छ  ।

अस्पतालका तत्कालीन निर्देशक डा. सन्तोष पौडेलसहितको मिलेमतोमा अनियमितता भएको पाइएको हो  ।

अस्पतालका निर्देशक पौडेलसहित बोलपत्र मूल्यांकन समितिमा रहेका अन्य कर्मचारीहरू पनि उक्त मिलेमतोमा संलग्न रहेको पाइएको छ  ।

चमेना गृह सञ्चालनका लागि अस्पतालले तोकेको न्यूनतम् योग्यता नै नपुगेको फर्म गुजेश्वरी होटल प्रालिलाई मिलेमतोमा ठेक्का दिइएको हो  ।

उक्त होटलका सञ्चालक भक्तबहादुर घलेले ठेक्का पाउनका लागि पेश गरेका कागजातमध्ये कतिपय कागजात अपूरो तथा झुटो रहेको पाइएको छ  । त्यति मात्र होइन, उनले ठेक्का पाउनकै लागि प्रस्ताव गरेको खाना-खाजाका विभिन्न आइटमका दररेट समेत अस्वाभाविक रहेको पाइएको छ  ।

वीर अस्पतालले २०८१ कात्तिक ९ गते चमेना गृह सञ्चालन गर्नका लागि गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेपछि  विभिन्न ७ वटा फर्महरूले बोलपत्र प्रस्ताव पेश गरेका थिए  ।

गुजेश्वरी होटल प्रालि, जी एन्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फूड एन्ड क्यान्टिन, आरएस मल्टीप्रपोज, नारायणी चमेना गृह र ग्रिनवर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेश गरेका थिए  ।

तर, २०८१ मंसिर २८ गते अस्पतालका निर्देशक पौडेलको अध्यक्षतामा गठित बोलपत्र मूल्यांकन समितिले मूल्यांकन गर्दा योग्यताको कागजात नै नपुगेको फर्म गुजेश्वरी होटल प्रालिलाई छनौट गर्‍यो  ।

बोलपत्र मूल्यांकन समितिले गरेको निर्णयमा भनिएको छ-

‘बोलपत्र प्रस्तावक ७ फर्ममध्ये गुजेश्वरी होटल प्रालिले प्राप्त गरेको अंकभार सबैभन्दा बढी ९३.४२ भएको र निजले पेश गरेको ९२ वटा आइटमको प्रतिइकाइ जम्मा दररेट २ हजार ६६७ रुपैयाँ (भ्याट बाहेक) सबैभन्दा न्यूनतम् देखिएको र २०८१ असोज ८ गतेको स्वीकृत अनुमानित लागत अनुमान ९ हजार ५१० रुपैयाँ (भ्याट बाहेक) भन्दा ७१.९५ प्रतिशत घटी हुनुका साथै सारभूतरूपमा प्रभावग्राही र न्यूनतम् मूल्यांकित बोलपत्र भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ (संशोधनसहित) बमोजिम ५ लाख रुपैयाँको कार्यसम्पादन जमानत लिने गरी उक्त बोलपत्र स्वीकृत गर्न सिफारिश गर्ने निर्णय गरियो  ।’

मूल्यांकन समितिले बोलपत्रको मूल्यांकन गर्दा गुजेश्वरीले प्राविधिकतर्फ ७०.१६ र आर्थिकतर्फ २३.२६ अंक प्राप्त गर्दै कुल ९३.४२ अंक प्राप्त गरेको थियो ।

त्यस्तै, जी एन्ड बी क्याफेले प्राविधिकतर्फ ७१.५० र आर्थिकतर्फ १५.६८ अंक प्राप्त गरी कुल ८७.१८ अंकसहित दोस्रो स्थान हासिल गरेको थियो ।

सुनिल क्यान्टिन तथा कपडा पसल प्राविधिकमा ५६.१६ र आर्थिकमा २५ अंक प्राप्त गरी कुल ८१.१६ अंकसहित तेस्रो भएको मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, शिवांश फूड एन्ड क्यान्टिनले प्राविधिकमा ६३ र आर्थिकमा १०.३४ अंक प्राप्त गरी कुल ७३.३४, आरएस मल्टीप्रपोजले प्राविधिकमा ६२ र आर्थिकमा १०.९५ सहित कुल ७२.९५, नारायणी चमेनागृहले प्राविधिकमा ५५ र आर्थिकमा १५.०३ सहित कुल ७०.०३ तथा ग्रिनवर्ड बेकरी क्याफेले प्राविधिकमा ५५.६६ र आर्थिकमा ९.०५ सहित कुल ६४.७१ अंक प्राप्त गरेका छन् ।

हेर्नुहोस्, मूल्यांकन समितिले गरेको निर्णय र अंकभारको विवरण:

null

null

मूल्यांकन समितिमा डा. सन्तोष पौडेल अध्यक्ष, अस्पतालको लेखा उपसचिव हिमलाल अधिकारी, कानूनी सल्लाहकार पूर्णिमा रिमाल, खरिद इकाई प्रमुख विष्णुमाया बन्जाडे र सिजन पौडेल सदस्य थिए भने राजन फुँयाल, लीलादेवी राई र महानराज ओली आमन्त्रित सदस्य थिए  ।

तर, छनोट भएको गुजेश्वरी होटलले नक्कली प्रमाणपत्रहरू पेश गरेको पाइएको छ  । अस्पतालले बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशन गर्दा क्यान्टिन सञ्चालनमा ७ वर्षको कार्यानुभव भएको तथा हालसम्म उक्त सेवा सञ्चालन गरिरहेको प्रमाणपत्र पेश गर्नुपर्ने शर्त राखिएको थियो  ।

त्यसैगरी, चमेना गृहले चालू आर्थिक वर्षमा खाद्य स्वच्छता न्यूनतम् गुणस्तर मापदण्ड पूरा गरेको प्रमाणपत्र वा गुणस्तरीय सेवा रहेको निरीक्षण प्रतिवेदनको प्रमाणपत्र पेश गर्नुपर्ने छ भन्ने शर्त पनि राखिएको थियो  ।

त्यसैगरी, एकजना प्रमुख भान्छे र तीनजना भान्छेहरूको व्यक्तिगत विवरण, योग्यता अनुभव, प्रशिक्षण विवरणलागयतका कागजात पेश गर्नुपर्ने शर्त राखिएको थियो  । त्यसबाहेक क्यान्टिन सञ्चालन गरिरहेको अवस्थामा सञ्चालित  उपकरणहरू र सोको विवरण समेत पेश गर्नुपर्ने शर्त राखिएको थियो  ।

प्रस्तावदाताले ती कागजातहरू प्रस्ताव साथ पेश गर्नुपर्ने र प्रतिष्ठानले स्थलगत निरीक्षण तथा जानकारी लिन सक्ने प्रावधान पनि राखिएको थियो  ।

‘निरीक्षण गर्दा मागबमोजिमका विवरण नभएमा, अपुग र झुटो भएमा निजको प्रस्ताव मूल्याकंनमा समावेश गरिने छैन  । न्यूनतम् योग्यता प्रस्ट रूपमा खुल्ने प्रमाणित सम्पूर्ण कागजातहरू पेश नगरेमा सो प्रस्ताव उपर कारवाही गरिने छैन,’ आवश्यक योग्यताको विवरणमा भनिएको छ ।

त्यसैगरी, खाजा-खानाको परिमाणमा अस्वाभाविक न्यून र बढी कबोल गरेको खण्डमा सोको दर विश्लेषणसहितको विवरण प्रतिष्ठानले निज प्रस्तावदाताबाट माग गर्नसक्ने र सो सन्तोषजनक नलागेमा निजको प्रस्तावउपर थप कारवाही गरिने छैन भन्ने उल्लेख छ   ।

हेर्नुहोस्, अस्पतालले निर्धारण गरेका योग्यताका आधारहरूको विवरण :

null

nullnull

null

null

तर, गुजेश्वरी होटलले पेश गरेको कार्यानुभवको प्रमाणपत्र नै शंकास्पद रहेको पाइएको छ  । त्यस विषयमा परेको उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गर्दा त्यस्तो पुष्टि भएको हो  ।  

बोलपत्र प्रस्तावमा उक्त होटलले विगत ४ चार वर्षदेखि हालसम्म त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज नर्सिङ क्याम्पसमा क्यान्टिन सञ्चालन गर्दै आएको भन्ने प्रमाणपत्र पेश गरेको थियो  ।

२०७९ फागुन २१ गते उक्त क्याम्पसकी क्याम्पस प्रमुख मुना राना थापाले जो जससँग सम्बन्ध राख्छ भन्ने व्यहोरासहित क्याम्पसको लेटरप्याडमा ‘उपरोक्त सम्बन्धमा यस महाराजगञ्ज नर्सिङ क्याम्पसभित्र सञ्चालनमा रहेको गुजेश्वरी होटल प्रालि विगत ४ वर्षदेखि हालसम्म सञ्चालनमा रहेको जानकारी गराउँदछु,’ भन्ने उल्लेख छ  ।

तर, त्यस विषयमा राष्ट्रिय सतर्कता केन्द्रले सोही नर्सिङ क्याम्पसलाई गुजेश्वरी होटल अहिले सञ्चालनमा रहेको हो/होइन भन्ने विषयमा जवाफ माग्दा २०८१ चैत १२ गते त्यही क्याम्पसकी प्रमुख थापाले उक्त होटलले क्यान्टिन सञ्चालन नगरेको भन्ने पत्र पठाएकी थिइन्  ।

हेर्नुहोस्, नर्सिङ क्याम्पसको दुवै पत्र :

nullnull

२०७९ सालमा उक्त होटलले नर्सिङ क्याम्पसमा क्यान्टिन सञ्चालन गरे पनि हाल सञ्चालन गरेको नपाइएकाले उक्त होटलको कार्यानुभववापत दिएको योग्यताको अंक कानूनसम्मत हुँदैन  । त्यसैगरी, उक्त होटलले ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको पनि कार्य अनुभवको प्रमाणपत्र पेश गरेको छ  ।

उक्त अनुभवको प्रमाणपत्रको सम्बन्धमा ओम हस्पिटललाई पनि सतर्कता केन्द्रले सोधेको थियो । २०८१ चैत १३ गते ओम हस्पिटलले दिएको जवाफमा ओम अस्पताल र रमाइलो चौतारीबीच सम्झौता भएकोमा पछि गुजेश्वरी होटलसँग सब लिज गरिएको उल्लेख छ  ।

हेर्नुहोस्, ओम हस्पिटलको कागजात

null

null

तर, ओम हस्पिटल र रमाइलो चौतारीबीच भएको सम्झौतापत्रमा द्वितीय पक्षले करार अवधिमा अन्य कुनै व्यक्ति वा संस्थालाई सम्झौता गरी भाडामा दिन सकिने छैन भन्ने स्पष्ट उल्लेख छ  । त्यसकारण गुजेश्वरी होटलले पेश गरेको अनुभवको अर्को प्रमाणपत्र पनि कानूनसम्मत लिखत हो भन्न सक्ने अवस्था नदेखिएको सतर्कता केन्द्रको छानबिन समितिको निष्कर्ष छ  ।

त्यसैगरी, अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजातमा चमेना गृहले चालु आर्थिक वर्षको खाद्य स्वच्छताको न्यूनतम् गुणस्तर मापदण्ड पूरा गरेको प्रमाणपत्र वा गुणस्तरीय सेवा रहेको निरीक्षण प्रतिवेदनको प्रमाणपत्र पेश गर्नुपर्नेमा उक्त होटलले चालु आवको प्रमाणपत्र पेश गरेको पाइएको छैन  ।

२०७९ फागुन २५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  महाराजगञ्जमा सञ्चालित गुजेश्वरी होटलको निरीक्षण गर्दा सन्तोषजनक (ग) वर्गको प्रमाणपत्र दिएको थियो  । उक्त होटलले त्यही प्रमाणपत्र वीर अस्पतालमा पेश गरेको पाइएको छ  । जबकि योग्यताको आधार तोकिएको शर्तमा चालु आर्थिक वर्षको प्रमाणपत्र पेश हुनुपर्ने उल्लेख छ  ।

हेर्नुहोस्, खाद्य स्वच्छताको न्यूनतम् गुणस्तर सम्बन्धी विगतको पत्र :

null

त्यसैगरी, एकजना प्रमुख भान्छे र ३ जना भान्छेको व्यक्तिगत विवरण योग्यताका प्रमाणपत्र पेश गर्नुपर्ने आधारभूत शर्तहरू पनि गुजेश्वरी होटलले पेश नगरेको सतर्कताको अनुसन्धानबाट खुलेको छ  ।

साथै, चालु उपकरणहरू चालु अवस्थामा रहे/नरहेको भनी पेश भएको कागजातबाट कहि कतै नदेखिएको अनुसन्धान गरिरहेको सतर्कताका अनुसन्धान अधिकारीले लोकान्तरलाई बताए  ।

‘अनिवार्यरूपमा प्रस्तावसँगै पेश गर्नुपर्ने कागजातहरू पेश गर्न नसकेमा, तोकिए‌का विवरणहरू नभएमा, अपुग भएमा, झुटो भएमा प्रस्ताव मूल्यांकनमा समावेश गरिने छैन, सो प्रस्तावउपर कारवाही गरिने छैन भन्ने पूर्वशर्त हुँदाहुँदै प्रस्ताव मूल्यांकनमा समावेश गर्दै गलत नियतले स्वीकृत गरिएको अवस्था देखिन्छ,’ ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने  ।

आधारभूत शर्त समेत पालना नगरेको अवस्था देखिँदा प्रथम दृष्टिमै योग्यताको मापदण्ड पूरा गर्न नसक्ने कम्पनीको प्रस्ताव मूल्यांकनमा समावेश नगर्नुपर्नेमा मूल्यांकन गरेर छनोट नै नगरेको देखिनुले पनि त्यसमा मिलेमतो भएको प्रशस्त आशंका गर्न सकिने उनको कथन छ  ।

खाना-खाजाको अस्वाभाविक दररेट प्रस्ताव

त्यसैगरी, खाजा-खानाको परिकारमा प्रस्तावक गुजेश्वरीले पेश गरेको दररेटमा अस्वाभाविक न्यून र बढी कबोल गरेको पाइए पनि प्रस्ताव स्वीकृत गरिएको देखिन्छ  । गुजेश्वरीले पेश गरेको कतिपय दररेट अस्वाभाविक मात्र नभएर अविश्वसनीय पनि रहेको पाइएको छ  ।

अस्पतालले तयार गरेको लागत अनुमानभन्दा ७२ प्रतिशत घटी गएर दररेट प्रस्ताव गरिएको छ  । बजारमा निकै मूल्य पर्ने धेरै खाना-खाजाको आइटमको मूल्य १ रुपैयाँ मात्र प्रस्ताव गरिएको छ, जुन अस्वाभाविक मात्र नभएर अविश्वसनीय पनि हो  ।

१ रुपैयाँ प्रस्ताव गरिएका सामान

गुजेश्वरीले निम्न खाना–खाजाका परिकारहरू १ रुपैयाँ मात्रमा बिक्री गर्ने प्रस्ताव पेश गरेको छ । तर, व्यावहारिकरूपमा यो मूल्यमा कुनै पनि सामान उपलब्ध गराउने गरेको देखिँदैन । हेर्नुहोस्, १ रुपैयाँमा उपलब्ध गराउने भनिएका सामानहरूको सूची :

  • काजु, बदाम, किसमिससहितको २०० एमएल लस्सी – १ रुपैयाँ
  • फ्रुट लस्सी (काजु, बदाम, किसमिससहित) – १ रुपैयाँ
  • हरियो मकै / केरनल कर्न / भेज पकौडा (१५० ग्राम, ६ पिस) – १ रुपैयाँ
  • जिरा आलु (१ प्लेट) – १ रुपैयाँ
  • बोइल्ड स्वीट कर्न / बेबी कर्न (१५० ग्राम) – १ रुपैयाँ
  • रसियन सलाद (१२० ग्राम) – १ रुपैयाँ
  • बदाम (५० ग्राम) – १ रुपैयाँ
  • टाइचिन चिउरा (६० ग्राम) – १ रुपैयाँ
  • ब्राउन ब्रेड / मल्टिग्रेन ब्रेड (५० ग्राम, १ पिस) – १ रुपैयाँ
  • चिज स्याण्डविच (सिंगल) – १ रुपैयाँ
  • भेज स्टिम मम र गोलभेँडा अचार (१० पिस, प्रति मम २५ ग्राम) – १ रुपैयाँ
  • हट एन्ड सावर सुप (२०० एमएल) – १ रुपैयाँ
  • खीर (काजु, किसमिस, नरिवल मसलासहित, १२० ग्राम) – १ रुपैयाँ
  • गाजरको हलुवा (खुवा र ड्राइनट्ससहित) – १ रुपैयाँ
  • आलु बयल (२०० ग्राम) – १ रुपैयाँ
  • भेज थुप्पा (२०० ग्राम प्रतिबोतल) – १ रुपैयाँ
  • साँदेको भटमास (२०० ग्राम) – १ रुपैयाँ
  • साँदेको बदाम (२०० ग्राम) – १ रुपैयाँ

यसका अतिरिक्त अन्य थुप्रै खाना–खाजाका परिकारहरू पनि अत्यन्त न्यून दरमा प्रस्ताव गरिएको उल्लेख छ। यस्ता दररेटप्रति मूल्यांकन समितिले गम्भीर रूपमा ध्यान दिएको देखिँदैन । अन्य खाना-खाजाका आइटम पनि निकै कम मूल्यमा प्रस्ताव गरिएको छ  ।

हेर्नुहोस्, खाना-खाजाको प्रस्तावित दररेट :

nullnull

null

null
null

salt training

कमेन्ट गर्नुहोस्