
सप्तकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा सोमबार बिहान साढे ८ बजेतिर उनीहरू बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य रहेका छन् ।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरेको छ ।
सुरक्षा बेस चतराबाट टोली खटिएर खोजी गरेकामा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहितको टोली परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।