
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने बताएका छन् ।
आज राजधानीमभा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको र त्यसपछि मात्रै आफूहरु कार्यक्षेत्रमा फर्किने बताएका हुन् ।
‘विद्यालय शिक्षा ऐन जारी गराएर नै जाने हो । अहिले पनि राजनीतिक दलहरु संवेदनशील हुने हो भने, ठीक ढंगले काम गर्ने हो भने १६३ बुँदामध्ये सयभन्दा बढी बुँदामा उपसमितिमा छलफल भइसकेको छ । दुई दिन थप मेहनत गर्ने हो भने उपसमितिले काम सक्छ । दुई दिनमा समितिबाट काम टुङ्ग्याउन सकिन्छ भनेर समितिका सभापतिले भन्नु भएको छ । अनि ११/१२ गतेसम्म काम सकिने अझै पनि अबवस्था छ,’ उनले भने ।
आफूहरुसँग विगतमा गरिएका सहमतिको पालना गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले विगत २० दिनदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । अध्यक्ष सुवेदीले आफूहरुले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको उनले सुनाए ।
‘सभामुखले अस्ती हामीसँग भेट्नुभयो । १२ गते सर्वसम्मतीमा दर्ता गर्दिनुभयो भने १३ गते म जारी गर्दिन सक्छु, अझ प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने प्रबन्ध पनि रहेछ । त्यो गरियो भने एकै दिनमा राष्ट्रिय सभामा जान नपर्नेगरी यो विधेयक टुङ्याउन सकिने छ । विद्यालय शिक्षा ऐन एउटा आकारमा नपुगिकन, जारी हुने सुनिश्चित नभइकन काठमाडौंबाट फर्किएर जाँदैनौं,’– उनले भने ।