१७ असार २०८३, बुधबार

स्कुटर चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

बैशाख ९, २०८२
काठमाडौं
स्कुटर चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

भक्तपुरको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न तीन जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर ठिमी  नगरपालिका ६  बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२- ०३७ प २४०७  रहेको स्कुटर नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४० प ०५२४  नम्बर राखी काठमाडौंको कागेश्‍वरी नगरपालिका-७ मा चलाइरहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले फेला पारेको थियो । सो स्कुटर सलिना कार्कीको रहेको खुल्न आएको छ । 

सोधपुछको क्रममा सो स्कुटर साजन र दावा मिलेर बिक्री गर्ने योजना बनाएको हुनाले दावालाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । दावालाई  सोधपुछ गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएपछि रोजनलाई समेत भक्तपुरको मध्यपुर ठिमीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

रोजनलाई समेत सोधपुछ गर्दा सो स्कुटर  भक्तपुरको नलिनचोकका २७ वर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपश्चात खोजी गर्ने क्रममा उनी बस्दै आएको ठाउँमा बा ६६ प ८७८५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको थियो । सो स्कुटर काठमाडौंको सानोगौचरणबाट हराएको भनि विकास लामाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

फरार रहेका सुजनको भने खोजी भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी  दिएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक छानबिन तथा कारबाहीका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्