
देशका केही क्षेत्रमा मंगलबार दिउँसो चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी र हिमपातको सम्भावना रहेका क्षेत्रमा कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।