काठमाडौँ, ५ माघ - सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।

नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो ।
टेलिकमले आफ्ना ग्राहकलाई पहिलोपटक तीव्र गतिको मोबाइल इन्टरनेट सेवा सुरु गरेकामा ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै सेवा विस्तार गर्न लागेको छ । ग्राहकको रुचि बढेकाले फोर जी सेवालाई अब देशका अन्य प्रमुख सहरमा लैजाने प्रक्रिया सुरु गरिएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।
व्यवस्थापिका–संसद्को विकास समितिको बैठकमा टेलिकमको सेवा गुणस्तरबारे जानकारी दिँदै राजभण्डारीले फोर जीलाई आइफोनमा पनि चलाउने र सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक सुधारका काम सुरु गरिएको बताइन् ।
हाल पोष्टपेडमा मात्र उपलब्ध गराएको फोरजी सेवा आगामी माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सेवा काठमाडौँ र पोखराका जीएसएम पोष्टपेडका तीन लाख ५० हजार ग्राहकले मात्र पाउनेछन् ।
टेलिकमले सुरु गरेको फोरी जी सेवाको १५ दिनमै ४१ हजार ग्राहकले सेवा लिएको टेलिकमले जनाएको छ । ग्राहकको उत्साहलाई मध्यनजर गरी सेवा विस्तार गर्ने टेलिकमको योजना रहेको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् ।