
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्दै जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरुद्धमा एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै दुवै नेताबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको जनाएका छन् ।
भारतीय विदेश प्रवक्ता जैसवालका अनुसार नेपालका प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा जम्मू-कश्मीरको पहलगामस्थित बैसारन मिडोजमा भएको आतंकवादी हमलाको निन्दा गरेका थिए ।
उक्त हमलामा २६ जनाको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिक पनि समावेश छन् । 'प्रधानमन्त्री ओलीले हमलामा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो र आतंकवादविरुद्ध लड्न नेपाल भारतको साथमा सधैं रहने बताउनुभयो,' विदेश प्रवक्ता जैसवालले बताए ।
फोन संवादका क्रममा भारतका प्रधानमन्त्री मोदीले पनि उक्त हमलामा एक नेपाली नागरिकको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन् ।
'प्रधानमन्त्री मोदीले यो दुखद घटनाका दोषीहरूलाई कडा कारबाही गरिने र आतंकवादविरुद्धको लडाइँमा भारत अडिग रहेको कुरा स्पष्ट पार्नुभयो,' जैसवालले लेखेका छन् ।
मंगलबार दिउँसो पहलगामको बैसारन मिडोजमा आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाउँदा २६ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये दुई जना विदेशी पर्यटक र एक नेपाली नागरिक रहेका छन् । यो हमलालाई जम्मू-कश्मीरमा हालसालैका वर्षहरूमा भएको सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ । हमलाको जिम्मेवारी लश्कर-ए-ताइबासँग सम्बद्ध 'द रेसिस्टेन्स फ्रन्ट'ले लिएको छ।
आतंकवादी हमलापछि प्रधानमन्त्री मोदीले साउदी अरबको भ्रमण छोट्याएर तत्काल भारत फर्किएका थिए । उनले दिल्ली विमानस्थलमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र परराष्ट्रमन्त्री एस जयशंकरसँग बैठक गरे ।