
१५औं महाधिवेशनको लागि नेतृत्त्वलाई दबाब बढाउन नेपाली कांग्रेसका सात नेताहरूको बैठक बस्दैछ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा प्रभावशाली सात नेताहरूको बैठक बस्न लागेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए । बैठक आज बिहान १० बजेपछि बस्ने उनले बताए ।
‘यसअघि पनि हामी प्रभावशाली र सिनियर नेताहरूको बैठक आलोपालो बस्दै आएका छौं । आज फेरि यही श्रृंखलाअन्तर्गत शशांक डाक्टरसाबको निवासमा भेला हुँदै छौं,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘हामीले मिलेर जाने वातावरण बनाउन, महाधिवेशन छिटो गर्न र उपयुक्त नेतृत्त्वको लागि दबाब बढाउन खोजेका हौं ।’
प्रभावशाली सात नेतामा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत र गोपालमान श्रेष्ठ रहेका छन् ।
यसअघि सिंह, निधि र शशांकले मात्रै आलोपालो भेटघाट गर्दै आएका थिए । त्यसमा पछि सिटौला, गच्छदार र श्रेष्ठ थपिएका हुन् । तर, देउवालाई दबाब बढाउने यो समूहमा डा. प्रकाशशरण महत पनि थपिएका छन् । उनी कुनै समय देउवाका विश्वासपात्र नेता हुन् । अहिले पनि महत कांग्रेसका प्रवक्ता छन् । पछिल्लो समय उनले पनि पार्टी नेतृत्त्वसँग फरक मत राख्ने प्रयास गरिरहेका छन् ।
सभापति देउवा उपचार र पारिवारिक जमघटको लागि थाइल्याण्डमा रहेका बेला महत पनि बैठकमा सहभागी हुन लागेका हुन् । नेता श्रेष्ठले पनि अघिल्लोपटक निधि निवासमा भएको जमघटमै आउन खोजे पनि महतको समय नमिलेको बताए । तर, बिहीबार बिहानको जमघटमा भने महत पनि सहभागी हुने जानकारी श्रेष्ठले दिए ।
विधानतः सभापति शेरबहादुर देउवाले अब १५औं महाधिवेशनमा दाबेदारी गर्न मिल्दैन । यसैले देउवालाई सहयोग गर्दै आएका सात नेताहरूले आफूहरू मध्येबाटै नेतृत्त्व गरेर जानेगरी परिस्थिति बनाउन सभापति देउवालाई दबाब बढाउने रणनीति बनाएका छन् । केही समयअघि यी सबै प्रभावशाली नेताले देउवालाई भेट्दै आफूहरूमध्येबाटै नेतृत्त्वको लागि एक जनालाई अगाडि सार्न दबाब दिएका थिए । तर, देउवाले महाधिवेशन नजिक आएपछि निर्णय लिने बताएका थिए ।
आगामी महाधिवेशनमा डा. शेखर कोइराला र महामन्त्री गगन थापा सभापतिको दाबेदार देखिएका छन् । संस्थापनतर्फ उपसभापति पूर्णबहादुर खड्काको पनि दाबेदारी छ । तर, यी तिनै जना नेतालाई रोकेर यही समूहबाट एक जना अगाडि बढ्नुपर्नेगरी सात नेताले पार्टीमा दबाब बढाउन खोजेका हुन् ।
१५औं महाधिवेशनको तयारीको लागि क्रियाशील सदस्यताको विषय टुंगो नलागेकोमा पनि उनीहरूले पार्टी नेतृत्त्वको ध्यानाकर्षण गराउँदै आएका छन् । चैत मसान्तसम्म टुंगो नलागेपछि पार्टीले सदस्यता नवीकरणको समय वैशाख १५ गतेसम्मलाई बढाएको छ ।
नियमित स्थितिमा २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, सभापति देउवाले पहिले आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै महाधिवेशन गर्ने मानसिकता बनाएको नेताहरू बताउँछन् ।