
जनमत पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता घोषणाको तयारी भएको छ ।
डा. चन्द्रकान्त (सीके) राउतले नेतृत्व गरेको जनमत र रन्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरेको उन्मुक्तिबीच एकता हुन लागेको हो । राउत र श्रेष्ठ दुवैले उक्त कुरा पुष्टि गरेका छन् ।
जनमत पार्टीका सांसद तथा वरिष्ठ उपाध्यक्ष अब्दुल खानका अनुसार पार्टीको नाम नागरिक जनमत रहने सहमति भएको छ ।
कानूनले नमाने पनि पार्टीको सबै दस्तावेजमा पहिलो वरीयतामा संरक्षकको रूपमा रेशमलाल चौधरी रहने तथा दोस्रो वरीयतामा कार्यकारी अध्यक्ष डा. सीके राउत रहने उनले खुलाए ।
तेस्रो वरीयतामा नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ सह–अध्यक्षको रूपमा रहने छिन् ।
एकीकृत पार्टीको चुनाव चिन्ह नागरिक उन्मुक्तिको ढकिया रहने तथा पार्टीको झण्डा कलेजी रंगको आयताकारको बीचमा सेतो ढकिया रहने उनले बताए ।
पार्टीको राजनीतिक सिद्धान्त भने सामुदायिक समाजवाद रहने गरी विधान तयार भएको खानले जानकारी दिए ।
अहिले २५ सदस्यीय पदाधिकारीसहितको सचिवालय रहने, १ सय सदस्यीय कार्यकारिणी समिति रहने तथा ४ सयदेखि ७ सयसम्मको केन्द्रीय कमिटी रहने गरी विधान तयार भएको उनले बताए ।
‘प्रदेशतर्फ सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नागरिक उन्मुक्तिबाट नेतृत्व गर्ने तथा मधेश, कोशी र गण्डकीमा जनमतको तर्फबाट नेतृत्व गर्ने सहमति भएको छ । साथै, बागमती प्रदेशमा संयुक्त रूपमा दुवै पार्टीको तर्फबाट नेतृत्व गर्ने सहमति छ,’ उनले लोकान्तरसँग भने, ‘त्यसैगरी दुवै पार्टीको सम्पत्ति पनि संयुक्त सम्पत्ति हुनेछ ।’
दुवै पार्टीबीच एकता भए प्रतिनिधिसभामा १० सीट, सुदूरपश्चिम प्रदेशसभामा ७ सीट, लुम्बिनी प्रदेश सभामा ७ सीट र मधेश प्रदेश सभामा १४ सीट हुनेछ ।
जनमत पार्टीले मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।