२६ असार २०८३, शुक्रबार

आजदेखि संघीय संसद्‌को बजेट अधिवेशन

बैशाख १२, २०८२
काठमाडौं
आजदेखि संघीय संसद्‌को बजेट अधिवेशन

संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आज (शुक्रबार)देखि प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन शुरू हुन लागेको हो । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेअनुसार दुवै सदनको अधिवेशन आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुरू हुनेछ । 

नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर, एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । 

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची छ । यसैगरी अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने छन् । 

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत् संसद्लाई सम्बोधन हुनेछ ।

यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन् । 

यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका सङ्घीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पु-याउन कोसिस हुनेछ ।

संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक  आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्