
तनहु १४ मंसिर तनहुका मतदाताले राजनीतिक दलका उम्मेदवारहरु भोट माग्न आएपछि मतदातालाई भोट हाल्ने तरिका भने नसिकाएको गुनासो गरेका छन् । गाउँमा अहिले पनि कतिपय मतदाता भोट हाल्ने तरिकाबाट अनभिज्ञ रहेको स्थायीनले बताए । 
लोकान्तर डटकमले तनहुका विभिन्न स्थानमा गरेको मतदाता शिक्षा सचेतना कार्यक्रममा मतदाताहरुले यसअघि कसैले पनि भोट हाल्ने तरिका नसिकाएको गुनासो गरेका हुन् ।
व्यास नगरपालिकाकी सीता नेपालीले गाउँमा भोट हाल्ने तरिकाबारे कसैले नसिकाएको गुनासो गरिन । ‘भोट माग्न त दिनदिनै आउछन, तर कसैले यसरी भोट हाल्ने भनेर सिकाएनन्’ उनले भने । 
६९ बर्षका ऋषिराम पौडेलले बृद्धबृद्धा र निरक्षर महिलाहरुलाई भोट हाल्ने तरिका सिकाउनु पर्ने बताए ।
प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक निर्वाचन प्रणालीका कारण मतदातमा अलमल देखिएको छ । ‘यसअघि एउटै मतपत्रमा भोट हालिएको थियो, अहिले तीनवटा मतपत्रमा हाल्नु पर्ने रहेछ, बल्ल थाहा भयो’ स्थानीय बिमला अधिकारीले भनिन् । 
तनहुको सिसाघाटमा भेटिएकी प्रदेश सभाकी उम्मेदवार आशा कोइरालाले पनि गाउँमा मतदाता शिक्षाको अभाव रहेको बताइन् । ‘मतदाता शिक्षाको कार्यक्रम आयोगले मात्र होइन राजनीतिक दलले पनि गर्नु पर्दो रहेछ’ उनले भनिन् ।
नेकपा एमालेका उम्मेदवार किशान श्रेष्ठले बदर मतको संख्या घटाउन मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने बताए । 
मत हाल्ने सही तरिका
यो पटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टा–छुट्टै रङका मतपत्र छन् ।
प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ । हरियो रङको मतपत्रमा हरियो रङका चुनाव चिह्न छन् । मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ । एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ । 
यस्तै, प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ । कालो रङको मतपत्रमा कालो रङकै चुनाव चिह्न छन् । मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ ।
समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् । सेतो रङको पानामा चुनाव चिह्न रातो रङका हुनेछन् । मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन् । मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिनुपर्नेछ
यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ । उक्त भागमा पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन् । एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ ।
यस्तो गरे मत बदर हुन्छ
मतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ । यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुन्छ । मत हाल्दा गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ ।

यस्तै मतदान अधिकृतको हस्ताक्षर (सही) नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ ।
तपाईं (मतदाता)ले यो पटक तीनवटा मतपत्रको चार ठाउँमा आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिह्नमा मत दिन पाउनु हुनेछ ।
तपाईंले दिने मत अमूल्य हुन्छ । आफूले दिएको मत बदर नहोस् भनेर हेक्का राख्नु पनि हरेक मतदाताको जिम्मेवारी हुन्छ ।