१० साउन २०८३, आइतबार

तनहुका मतदाताको गुनासो, ‘नेताहरु भोट मात्र माग्छन भोट हाल्न सिकाउँदैनन्’

मंसिर १४, २०७४
तनहुका मतदाताको गुनासो, ‘नेताहरु भोट मात्र माग्छन भोट हाल्न सिकाउँदैनन्’

तनहु १४ मंसिर तनहुका मतदाताले राजनीतिक दलका उम्मेदवारहरु भोट माग्न आएपछि मतदातालाई भोट हाल्ने तरिका भने नसिकाएको गुनासो गरेका छन् । गाउँमा अहिले पनि कतिपय मतदाता भोट हाल्ने तरिकाबाट अनभिज्ञ रहेको स्थायीनले बताए । 

लोकान्तर डटकमले तनहुका विभिन्न स्थानमा गरेको मतदाता शिक्षा सचेतना कार्यक्रममा मतदाताहरुले यसअघि कसैले पनि भोट हाल्ने तरिका नसिकाएको गुनासो गरेका हुन् । 

व्यास नगरपालिकाकी सीता नेपालीले गाउँमा भोट हाल्ने तरिकाबारे कसैले नसिकाएको गुनासो गरिन । ‘भोट माग्न त दिनदिनै आउछन, तर कसैले यसरी भोट हाल्ने भनेर सिकाएनन्’ उनले भने । 

६९ बर्षका ऋषिराम पौडेलले बृद्धबृद्धा र निरक्षर महिलाहरुलाई भोट हाल्ने तरिका सिकाउनु पर्ने बताए । 

प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक निर्वाचन प्रणालीका कारण मतदातमा अलमल देखिएको छ । ‘यसअघि एउटै मतपत्रमा भोट हालिएको थियो, अहिले तीनवटा मतपत्रमा हाल्नु पर्ने रहेछ, बल्ल थाहा भयो’ स्थानीय बिमला अधिकारीले भनिन् । 

तनहुको सिसाघाटमा भेटिएकी प्रदेश सभाकी उम्मेदवार आशा कोइरालाले पनि गाउँमा मतदाता शिक्षाको अभाव रहेको बताइन् । ‘मतदाता शिक्षाको कार्यक्रम आयोगले मात्र होइन राजनीतिक दलले पनि गर्नु पर्दो रहेछ’ उनले भनिन् । 

नेकपा एमालेका उम्मेदवार किशान श्रेष्ठले बदर मतको संख्या घटाउन मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने बताए ।  

मत हाल्ने सही तरिका
यो पटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्र छन् ।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टा–छुट्टै रङका मतपत्र छन् ।

प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ ।  हरियो रङको मतपत्रमा हरियो रङका चुनाव चिह्न छन् ।  मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ ।  एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ ।  

यस्तै, प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ ।  कालो रङको मतपत्रमा कालो रङकै चुनाव चिह्न छन् ।  मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ । 

समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् ।  सेतो रङको पानामा चुनाव चिह्न रातो रङका हुनेछन् । मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन् ।  मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिनुपर्नेछ 

यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ ।  उक्त भागमा पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन् ।  एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ ।  

यस्तो गरे मत बदर हुन्छ
मतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ ।  यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुन्छ । मत हाल्दा गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ ।  

यस्तै मतदान अधिकृतको हस्ताक्षर (सही) नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ ।  

तपाईं (मतदाता)ले यो पटक तीनवटा मतपत्रको चार ठाउँमा आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिह्नमा मत दिन पाउनु हुनेछ ।  

तपाईंले दिने मत अमूल्य हुन्छ । आफूले दिएको मत बदर नहोस् भनेर हेक्का राख्नु पनि हरेक मतदाताको जिम्मेवारी हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्