०९ असार २०८३, मंगलबार
प्रहरीमा सरुवाको सकस

प्रदेशमा जान डीआईजीहरूको मारामार, दर्जन बढी जिल्लामा एसपी फेरिने

बैशाख १२, २०८२
काठमाडौं
प्रदेशमा जान डीआईजीहरूको मारामार, दर्जन बढी जिल्लामा एसपी फेरिने

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवालगत्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गर्ने तयारी गरेको छ । 

प्रदेश प्रहरी कार्यालयहरू गण्डकी, कर्णाली र सुदूरपश्चिममा लामो समय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले निमित्त भएर काम गरिरहेका छन् । 

गण्डकीका डीआईजी भोलाबहादुर रावलले अवकाश पाएपछि एसएसपी महेन्द्र खड्काले निमित्तको रूपमा काम गरिरहेका हुन् । 

उता सुदूरपश्चिमका डीआईजी गणेश चन्द अवकाशमा गइसकेपछि हाल एसएसपी शिवकुमार श्रेष्ठले निमित्तको रूपमा काम गर्दै आएका छन् । 

त्यस्तै, कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएर अवकाशमा गइसकेपछि पनि त्यहाँ डीआईजी पठाइएको छैन । 

हालै एआईजी बढुवा सिफारिसमा परेकामध्ये चारजना डीआईजीले प्रदेश प्रमुखको रूपमा काम गरिरहेका छन् । डीआईजीहरू लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की र राजन अधिकारीले क्रमशः मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशको प्रमुखको रूपमा काम गरिरहेका छन् ।

एआईजी बढुवा सिफारिसमा परेका ६ डीआईजीमध्ये दुईजना क्रमशः चन्द्र कुवेर खापुङले केन्द्रीय अनुसन्धान ब्यूरोको निमित्त प्रमुख र डा. मनोज केसीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्देशकको रूपमा काम गरिरहेका छन् । 

बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको पत्र लोकसेवा आयोगमा पुगेर आयोगले प्रमाणीकरण गरी गृहमा पठाइसकेको छ । 

अब मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि ६ जनाले दर्ज्यानी चिह्न लगाउने छन् ।

नेपाल प्रहरीमा डीआईजीको दरबन्दी संख्या प्राविधिकबाहेक प्रशासनतर्फ २० जनाको रहेको छ । हाल १० जना डीआईजी मात्रै छन् । बाँकी १० जनाको दरबन्दी खाली छ । 

प्रदेश प्रमुखमा जान डीआईजीहरू क्रमशः सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया दौडधुपमा लागेका छन् । 

मधेश प्रदेशमा डीआईजी चतुर्वेदी, बागमतीमा कार्की, कोशीमा थपलिया, सुदूरपश्चिममा भट्ट, गण्डकीमा पौडेल, कर्णालीमा आचार्य र लुम्बिनीमा राठौरलाई पठाउने मोटामोटी सहमति भएको गृहका एक उच्च अधिकृतले बताए । ती अधिकृतका अनुसार सरुवा सूची निकाल्दा केही हेरफेरको सम्भावना देखिन्छ । 

‘बढुवामा छुटेका डीआईजीहरू प्रदेशमा जान खुट्टा उचालिरहनुभएको छ,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘मौजुदा १० डीआईजीमध्येबाट ७ जनालाई प्रदेशमा पठाउने हो, क–कसले कहाँ बाजी मार्ने हो, अन्तिममा थाहा हुन्छ ।’

गृहसचिव गोकर्णमणि दुवाडीले सातवटै प्रदेशमा डीआईजी पठाउने गृहकार्य भइरहेको लोकान्तरलाई बताए । उनले भने, ‘एआईजी बढुवाको सूची प्रमाणीकरण भएर लोकसेवाले पठाइसक्यो, अब डीआईजी सरुवा गर्न बाटो खुलेको छ, हामी सरुवाको गृहकार्य गर्दैछौं ।’ 

डीआईजीसँगै एसएसपीको पनि सरुवा निकाल्ने तयारी छ । 

१४ महिनामा पनि भएन एसपीको सरुवा

नेपाल प्रहरीमा १४ महिना पुग्दा पनि प्रहरी उपरीक्षक (एसपी)को सरुवा हुन सकेको छैन । 

झापा, रुपन्देही, कञ्चनपुर, कैलाली, काभ्रे, धनुषा, रौतहट, सर्लाही, महोत्तरीलगायत दर्जन जिल्लाका एसपीको अवधि १४ महिना पुगिसक्यो । प्रहरी नियमावलीमा सामान्यतया इञ्चार्ज पठाइसकेपछि एक वर्षसम्म सरुवा नगर्ने प्रावधान छ । त्यसपछि सरुवा हुने गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बनाएको सरुवा मापदण्डअनुसार एकपटक मात्र ‘क’ वर्गमा जान पाइने प्रावधान छ । तर, सरुवा मापदण्ड संशोधन गरेर एसपीको सरुवा गर्ने तयारी मुख्यालयले गरेको छ । 

विशेषगरी झापा, रुपन्देही, धनुषा र कैलाली जान एसपीहरूको मारामार छ । यी जिल्लामा जान एसपीहरूले राजनीतिक ‘लबिइङ’ गरिरहेका छन् । 

एसपीसम्मको सरुवा प्रहरी महानिरीक्षकले नै गर्न पाउँछन् । एसएसपी र डीआईजीको गृह मन्त्रालय र एआईजीको सरुवा मन्त्रिपरिषद्ले गर्ने व्यवस्था नियमावलीमा छ । 

salt training

कमेन्ट गर्नुहोस्