
जनकपुरधाम, १४ मंसिर — यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जनकपुरका मतदाताहरू मतदान गर्न अत्यन्तै उत्साहित देखिएका छन् ।
स्थानीय तहको निर्वाचनमा समेत उल्लेख्य रूपमा मतदान भएको थियो । अर्को हप्ता हुने निर्वाचनका लागि मतदाताहरू तयार देखिएका छन् । तर मतदान कसरी गर्ने भन्ने विषयमा मतदाताहरूमा धेरै चेतना देखिँदैन ।
मतदान गर्नका लागि राजनीतिक दलहरूले वा उम्मेदवारहरूले समेत घर घरमा गएर मतदाता शिक्षा दिन सकेका छैनन् । जनकपुर उपमहानगरपालिका–१२ का वैद्यनाथ कुमार खाङ भन्छन्, ‘मतदान गर्न तयार छु । तर कसैले आएर मतदान कसरी गर्ने हो भन्ने कुरा सिकाएका छैनन् ।’
आफ्नो गाउँ कुवा जनकपुर उपमहानगरपालिकामा भएपनि गाउँका मतदाताहरूमध्ये प्रायः महिलाहरू अशिक्षित अनि उनीहरूलाई मतदान कसरी गर्ने भन्ने प्रशिक्षण नदिइएकाले अधिकांश मतहरू बदर हुने हो कि भन्ने खाङको चिन्ता छ ।
बिहीवार जनकपुर उपमहानगरपालिका–१२ को कुवा गाउँमा लोकान्तर डट्कमले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ को लागि मतदाता शिक्षा सचेतना अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दा उपस्थित भएका अधिकांश सहभागीहरूले राजनीतिक दल र तिनका उम्मेदवारहरूले आआफ्नो पार्टीको प्रचारप्रसार गरेपनि मतदान कसरी गर्ने भन्ने कुरा कसैले पनि नसिकाएको बताएका थिए ।
ती मतदाताहरूलाई मतदान गर्ने प्रक्रियाका विषयमा प्रशिक्षित गरेपछि मात्र आफ्नो मत अब बदर नहुने भनी सहभागीहरूले विश्वास व्यक्त गरेका थिए ।
जनकपुर उपमहानगरपालिका–१२ की उर्मिला पण्डितले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी थिइन् । तर यसपटक हुने निर्वाचनमा मतपत्र कस्तो हुने, मतपेटिका कतिवटा हुने, कहाँ कसरी मतदान गर्ने विषयमा उनी अनभिज्ञ थिइन् ।
सोही गाउँकी बुधनीदेवी मुखियालाई भने निर्वाचन आयोगबाट खटिएका सामाजिक परिचालकले मतदान कसरी गर्ने भनेर घरमा आएर सिकाएको भएपनि पछि गएर निर्वाचनको दिन बिर्सिइने हो कि भन्ने डरले समेत सताउने गरेको छ ।
स्थानीय विवेकानन्द झाका अनुसार, अहिले गाउँमा खेतीपातीको समय भएको र खेतमा धान काट्ने समय भएकाले पनि मतदाताहरू मतदानका विषयमा सिक्नसमय अभाव भएकाले अधिकांश मतदाताहरू मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको बताउँछन् । राजनीतिक दलका उम्मेदवारहरू घरदैलो त गरिरहेका छन् तर मतदान कसरी गर्ने भनेर उनीहरूले नसिकाएको बुधनीदेवी मुखिया बताउँछिन् ।
निर्वाचन आयोगबाट खटिएकी सामाजिक परिचालिका पुनितादेवी यादवलाई घरदैलोमा पुगेर मतदाता शिक्षाबारे भन्न जाँदा भोट माग्न आएको हो भने पैसा देऊ समेत भनेर मतदाताहरूले हैरान पार्ने गरेका छन् ।
अन्तर्क्रिया कार्यक्रम आयोजन गर्दा नास्ता, भत्ता समेत देउ अनि मात्र आउने भनेर मतदाताहरूले भन्ने गरेकाले घरदैलोमा पुगेर नमूना मतदानबारे प्रशिक्षण दिइरहेको पुनिताले बताइन् ।