
काठमाडौं, १४ मंसिर – निर्वाचनको मिति नजिकिँदै जाँदा युवा मतदाताहरु उत्साहित बनेका छन् । लोकान्तर सञ्चार प्रालिले काठमाडौंको प्रर्दशनी मार्गमा आयोजना गरेको मतदाता शिक्षा सचेतना कार्यक्रममा युवाहरुले आफूहरु मतदान गर्न उत्साहित भएको बताए ।
निर्वाचनमा नयाँ मतदाताहरुले मत बदर नगरुन् भन्ने उदेश्यले युवाहरु माझ गरीएको अन्तरक्रियामा काठमाडौंमा रहेका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निर्वाचनमा मतदान कसरी गर्ने र मत बदर हुन नदिन कसरी भोट हाल्नुपर्छ भन्ने विषयमा छलफल भएको थियो । छलफलमा युवाहरुले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको विषयमा आफ्ना जिज्ञसाहरु राखेका थिए ।
कार्यक्रममा निर्वाचन सामग्री तथा नमूना मतपत्रको प्रयोग गर्दै मत बदर नहुनेगरी मतदान गर्ने विधिबारे जानकारी गराइएको थियो । तीनवटा मतपत्र, मत हाल्ने तरिका, स्वस्तिक छापको प्रयोग लगायतका विषयमा मतदातालाई जानकारी दिइएको थियो ।

सन्तोष प्रसाद रिमालले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्ने विषयमा टेलिभिजनबाट केही जानकारी पाएको भएपनि यसभन्दा अघि कसैले प्रत्यक्ष रुपमा नसिकाएको बताए ।
‘यसरी नमुना मतपत्र देखाएर त यसअघि कसैले सिकाएको थिएन । टिभिमा अलिअलि हेरेको थिएँ । केही अन्यौलता रहेको थियो । आज यहाँ राम्रोसंग सिक्न पाएँ, खुसी लाग्यो,’ उनले भने, ‘म सक्षम उम्मेदवारलाई मत बदर नहुने गरी भोट हाल्छु र अरुलाई पनि सिकाउँछु ।’

कार्यक्रममा सहभागी भएकी इन्दिरा बुढाथोकीले प्रतिनिधि र प्रदेश सभामा भोट हाल्न कुनै दुविधा नरहेको बताइन् । ‘मैले मतदाता शिक्षा कार्यक्रमहरु हुँदा ध्यान दिएर सिक्ने गरेकी छु । मैले त भोट हाल्न सक्छु तर कतिपय महिलाहरुले राम्रोसंग भोट हाल्न राम्रोसंग नसिक्दा मतदान गर्ने दिन पुरुषलेसंगै गएर हाल्दिन्छन् । महिलाहरुले पनि मतदान शिक्षामा राम्रोसंग सिकेर आफै भोट हाल्नुपर्छ । यो मतदान त्यति गाह्रो छैन,’ उनले भनिन् ।

कार्यक्रममा सहभागी भएका रत्नराज्य लक्ष्मी क्याम्पसका उप प्राध्यपक देवी घिमिरेले स्थानीय तहमा जस्तो टोलटोलमा मतदाता शिक्षा कार्यक्रम संचालन नभएको बताए । उनले भने, ‘स्थानिय तहको निर्वाचनमा पनि काठमाडौंमै धेरै मत बदर भएको छ । त्यसैले, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि प्रभावकारी रुपमा मतदान गर्ने शिक्षा दिनु आवश्यक छ ।