
भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) विद्यार्थी संघ चुनावमा वाम गठबन्धनले चारमध्ये तीन शीर्ष पदहरू जितेर आफ्नो प्रभुत्व कायम राखेको छ । अखिल भारतीय विद्यार्थी परिषदले ठूलो अग्रता लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार नितिश कुमार (एआईएसए) अध्यक्ष, मनीषा (डीएसएफ) उपाध्यक्ष र मुन्तेहा फातिमा (डीएसएफ) महासचिव पदमा निर्वाचित भएका छन् । यद्यपि, एबीभीपीले सहसचिव पद जितेर दशक लामो खडेरी समाप्त गरेको छ जसमा वैभव मीणा विजयी भएका छन् ।
मतगणनाको धेरैजसो दिन बिजेपी र आरएसएस आवद्ध एबीभीपीका उम्मेदवारहरू चारैवटा केन्द्रीय प्यानल पदहरूमा अगाडि थिए, जसले जेएनयूमा परम्परागत वामपन्थी प्रभुत्वको लागि बलियो चुनौतीलाई संकेत गरेको छ । पछिल्ला अध्यक्ष, उपाध्यक्ष र महासचिवको चुनावमा पराजित भए पनि हारको अन्तर साँघुरो हुँदै गएको समाचारमा उल्लेख छ ।
हिंसाका कारण ढिलाइ भएपछि अप्रिल २५ मा भएको चुनावमा लगभग ७० प्रतिशत मतदाताले उत्साहजनक रूपमा मतदान गरेका थिए ।
काउन्सिलर चुनावमा एबीभीपीले ४२ मध्ये २३ सिट जितेर इतिहास रचेको छ । यो १९९९ पछिको उत्कृष्ट प्रदर्शन हो। संस्थाले इन्जिनियरिङ स्कूलमा जित हासिल गरेको र सामाजिक विज्ञान, अन्तर्राष्ट्रिय अध्ययन र संस्कृत तथा भारतीय अध्ययन स्कूलहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
नवनिर्वाचित महासचिव मुन्ताहा फातिमाले वाम एकाइले सधैं जितेको बताइन् । नवनिर्वाचित उपाध्यक्ष मनिषाले यो जित सम्पूर्ण विश्वविद्यालयको जित भएको बताइन् ।