
सांसद महिन्द्र राय यादवले काठमाडौंमा कबाड व्यवसाय गर्नेहरूको रोजगारी र शान्ति, सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले काठमाडौं महानगरपालिकाभित्र कबाड संकलन र व्यवसाय गर्नेहरूलाई १८ महिनादेखि अन्याय भएको भन्दै सरकारले यसबारे सोच्नुपर्ने बताएका हुन् ।
महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले कबाड व्यवसायीलाई दु:ख दिने, सामान जफत गर्ने, तोडफोड गर्ने र अदालतको अवहेलना गर्ने लगायतका काम गरेको भन्दै सांसद यादवले ध्यानाकर्षण गराए ।
कबाड संकलन गरेर व्यवसायीहरूले महानगरको सफाइमा समेत सहयोग पुर्याइएको उनको भनाइ छ । कबाड संकलनमा अवरोध हुँदा सयौं परिवारको जीविकोपार्जनमा समेत समस्या परेको सांसद यादवले बताए ।
यही वैशाख ३ गते मात्र पनि महानगर प्रहरीले कबाड व्यवसाय स्थलमा तोडफोड गर्ने र व्यवसायीहरूको टाउको फुटाउने काम गरेको सांसद यादवको भनाइ छ ।
कबाडी व्यवसायी समाज नेपालले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित पटक-पटक विभिन्न पक्षलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् ।