
पोखरा महानगरपालिका-२८ का राधाकृष्ण तिवारी सुक्खा हुने तीन महिनाबाहेक अरु समय खेतिकिसानी गर्छन् । उनको बारीमा विभिन्न प्रकारका तरकारी उत्पादन हुन्छन् । एकातिर उत्पादनका लागि गर्नुपर्ने दु:ख, अर्कोतिर बजार व्यवस्थापनको संघर्ष । उनलाई खेतिपातीको कामै छाडिदिउँ कि भन्ने नलागेको होइन तर, कृषिकर्मलाई चटक्कै छाड्न सकेनन् ।
बजारमा तरकारीको मूल्य यति,उति छ रे भनेर सुन्थे । तर, आफ्नो खल्तीमा कहिल्यै बजारमूल्यको रकम परेन । जहिले पनि न्यून मूल्यमा बेचेर फर्किनुपर्थ्यो । त्यही न्यून मूल्यका लागि गर्नुपर्ने दौडधूप पनि कम थिएन । त्यसैमाथि ‘उपभोक्ता’ले गर्ने टर्रो व्यवहार, मनै कटक्क हुन्थ्यो ।
तर, अहिले राधाकृष्णलाई पहिलेजस्तो तरकारी बेच्दा असहज मान्नुपर्दैन । पाउनुपर्ने मूल्य पनि पाउँछन् । बजारमा तरकारी कसरी पुर्याउने होला भनेर समेत सोच्नुपर्दैन । मात्र उत्पादनमा ध्यान दिए पुग्छ । बजारको जिम्मा पोखरा महानगरले लिएको छ ।
हप्तामा एक वा दुई दिन पोखरा महानगरले सञ्चालन गरेको कृषि एम्बुलेन्स उनको बारीछेउमै पुग्छ । जसमा कृषकले आफूले उत्पादन गरेको तरकारी राखिदिन्छन् । त्यसलाई पोखरा ल्याइपुर्याएर बजार मिलाउदिने काम समेत महानगरले गरेको छ ।
‘अब त आनन्द भएको छ । स्वभामानमा पनि चोट पुगेन । पहिले पहिले त साह्रै दु:ख थियो । यहाँबाट बाइकमा बोकेर लैजान्थेँ । बजारभरी डुलाउँदै हिन्थेँ । जहाँनेर पायो त्यहाँनेर राख्न दिँदैनथिए’, तिवारीले भने ।
पोखरा महानगरपालिका-२८ को कृषि सञ्जालको अध्यक्ष समेत रहेका उनी महानगरले कृषि एम्बुलेन्सको सेवा शुरू गरेपछि किसानलाई सजिलो भएको बताउँछन् ।
‘हामीलाई धेरै सजिलो भएको छ । पहिला बजार लैजान समस्या थियो । अहिले सिधै गाडीमा हालेपछि सम्बन्धित ठाउँ पुगिहाल्यो’, उनी भन्छन्, ‘तरकारी नहुँदा हप्तामा एकपटक आउँछ । लोड हुँदा दुईपटक पुग्छ । कहिलेकसो बढी भयो भने बाटोको थोरै तलसम्म पुर्याइदिन्छौं । गाडीले बाटो पर्दा पिकअप गर्छ ।’
उनका अनुसार यो सेवाबाट साना किसानले लाभ लिइरहेका छन् । उनको ठाउँबाट करिब डेढ सय जति किसानले गाडीमा तरकारी छोड्न आउँछन् । डोकोमा तरकारी बेच्दै हिँड्ने किसानको सास्ती समेत यो सेवाले अन्त्य गरेको छ ।
अहिले साना कृषकले पनि तरकारीको मूल्य पाएका छन् । महानगरले कम ‘मार्जिन’ राखेर कृषकसँग तरकारी खरिद गर्छ । तिवारीको अनुभवमा महानगरले २० प्रतिशत मार्जिन राख्छ भने व्यापारीले ५० प्रतिशतसम्म मार्जिन राख्थे ।
महानगरले थोरै मार्जिन राख्ने भएपछि किसान तरकारी फलाउनमा अग्रसर भइरहेका छन् । महानगरले उत्पादनको आधारमा अनुदान दिए किसानहरू थप प्रोत्साहित हुने उनी बताउँछन् ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार कृषि एम्बुलेन्स वडा नम्बर २२, २३, २८ र ३३ मा पुग्छ । महानगरमा एउटा मात्र भएको यो एम्बुलेन्स आवश्यकता अनुसार महानगरभित्रको अन्य स्थानमा पनि पुग्ने उनी बताउँछन् ।
पोखरा-२२ का चण्डिका प्रसाद बराल मौसम अनुसार वर्षभर किसानी गर्छन् । हप्तामा दुई दिन उनको क्षेत्रमा एम्बुलेन्स पुग्छ । उनी पहिला व्यापारीमार्फत् बजारमा तरकारी पुर्याउँथे । अहिले भने महानगरबाट तरकारी बजार पुर्याउँदा फाइदा भएको बरालले बताए ।
‘हामीले करिब करिब सबै सिजनमा तरकारी खेती गर्छौं । टमाटर अलि थोरै छ । हाम्रोतिर हप्ताको दुई दिन कृषि एम्बुलेन्स आउँछ । पहिला व्यापारीमार्फत् पठाउँथ्यौं । व्यापारीले दिनेभन्दा महानगरलाई दिँदा फाइदा हुने रहेछ’, बरालले भने ।