
ठगी र बैंकिङ कसुरमा तीन वटा प्रहरी युनिटबाट मुद्दा चलेका अभियुक्त पुनः ठगी मुद्दामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका-७, दल्ली घर भएर काठमाडौं सोह्रखुट्टे बस्ने दीपेन्द्र सिंह छन् । उनी नेपाल प्रहरीका पूर्वहवल्दार समेत हुन् ।
उनले पछिल्लो पटक यार्सागुम्बाको व्यापार गर्ने भन्दै विभिन्न व्यक्तिलाई ३६ लाख दुई हजार १६६ रूपैयाँ ठगी गरेको आरोप छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार सिंहले यार्सागुम्बाको लागि भनेर पैसा उठाएर ठगी गरेको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
जिसीका अनुसार सिंहविरुद्ध यसअघि तीन वटा कार्यालयबाट मुद्दा चलेका थिए ।
सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३० लाख रूपैयाँ बराबरको बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
त्यस्तै, नेपाल प्रहरीमा भर्ती गराइदिने भन्दै बाँकेमा १० लाख ठगी गरेपछि बाँके प्रहरीले ठगी मुद्दा र सेनामा भर्ती गराइदिने भन्दै चार लाख ठगी गरेको पाइएपछि सिंहविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरले ठगी मुद्दा चलाएको थियो ।