
गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेलाई वडा नम्बर-२ चुत्राबोट जोड्ने लामो झोलुंगे पुल बनेको छ।
गहिरो खोंचसँगै रहेको निस्दी खोलामा बनेको यो पुल तर्नका लागि गाह्रो भएर नभई गाउँमा पैदल यात्राको दुरी घटाउनका लागि निर्माण गरिएको हो। मालिका गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष विनोद श्रीषका अनुसार पुल बनेपछि पैदल यात्रुका लागि डेढ घण्टा बाटो छोटिएको छ।
'छ महिनाअघि संघीय सरकारको आर्थिक सहयोगमा यो पुल बनेर सञ्चालनमा आएको छ,' वडाध्यक्ष श्रीष भन्छन्, 'छापहिले र चुत्राबोट जोड्न यो पुल वरदान साबित भएको छ। वडा नम्बर १ र २ का जनता यो पुल नहुँदा तीन घण्टासम्म फेरो बाटो हिँडेर जान बाध्य थिए, अहिले आधा समयमै पुग्न सक्छन्।'
जमिनबाट अग्लो ठाउँमा भएकाले पर्यटकीय गन्तव्य पनि बन्न पुगेको अध्यक्ष श्रीषको भनाइ छ। मालिका वडा नम्बर- ५ बासीलाई दर्लिङ बजार जानका लागि पनि छोटो बाटो मिलेको छ।

नागरिकलाई राहत
गुल्मीकै रेसुंगा नगरपालिका वडा नम्बर- ७ र वडा नम्बर- ९ जोड्न झोलुंगे पुल बनेको छ।
भुजलखर्क र विद्युत कार्यालयनजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमाउरो बाटो हिँड्नुपर्ने भएपछि नमूना झोलुंगे पुल बनाइएको हो। रेसुंगा नगरपालिका वडा नम्बर- ७ का वडाध्यक्ष रामप्रसाद पन्थी (रामजी) ले विशेषगरी दुई वडाका बस्ती जोड्नका लागि पुल बनेको बताए ।
'यो पुल नहुँदा पहिले माइकास्थान हुँदै कमेरेपानी भएर तम्घास झर्नुपर्थ्यो,' वडाअध्यक्ष पन्थी लोकान्तरसँग भन्छन्, 'सडक सञ्जाल सहज नभएका बासिन्दालाई लक्षित गरी झोलुंगे पुल निर्माण भएपछि घण्टौं हिँड्नुपर्ने विद्यार्थीदेखि आमनागरिकको बाध्यता हटेको छ।'
स्थानीयलाई दैनिक यात्राका लागि सहज भएको छ। यसअघि स्थानीय ३ घण्टासम्म पैदल हिँडेर स्वास्थ्य, पशु र प्रशासनिक सेवा लिन बाध्य थिए। जिल्ला सदरमुकाम समेत पर्ने रेसुंगाका केही वडा दुर्गम मानिन्छन्।
राङ्दाल चौर र विचित्र गुफा क्षेत्र जोड्ने गरी छल्दीखोलामाथि पनि झोलुंगे पुल निर्माण गरिएको छ। खोलामाथि निर्माण भएपनि यो पुलले पनि पैदल यात्रीको वारिपारि आउ-जाउ गर्ने दूरी कम गरेको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर-६ र पर्वतको बिहादी गाउँपालिका-३ फाट जोड्ने कालीगण्डकी नदीमाथि बनेको पुलले चेलीबेटी/रोटीबेटीको सम्बन्ध स्थापित गरेको सोही वडाबासी विपिन ढकालले बताए ।
'कालीगण्डकीका छापचौर, फोक्सिङ कोरेङका बासिन्दा विवाह, नातासम्बन्ध र पशु चौपाया किनबेचका लागि कालीपार जान्थे,' ढकालले लोकान्तरसँग भने, 'पूर्तिघाटबाट पर्वतको इमिचौर हुँदै जान तीन घण्टाको बाटो लाग्थ्यो, अब उर्लेनीबाट दश मिनेटमै बिहादी पुग्न सकिन्छ।'
चार धाममध्येको एक मानिने गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा तीनमुखे पुल अहिले अपरिचित छैन। कालीगण्डकी नदीमाथि बनेको यो नेपालकै एकमात्र तीनमुखे झोलुंगे पुल हो। नेपालमै नमूनाको रूपमा रहेको रिडीको तीनमुखे झोलुंगे पुलले गुल्मी, पाल्पा र स्याङ्जाका स्थानीयलाई सहजताका साथ एकै ठाउँमा जोडेको रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । भ्यू टावरसहित १० करोड रुपैयाँमा बनेको पुलले रिडीलाई पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गरेको छ।

सरकारी निकायबाट थप पहल
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा- ५ मा नेपालकै सबैभन्दा लामो झोलुंगे पुल बनेपछि वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको नारायणी नदीमाथिको १ हजार ५५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि सुस्ताबासी अत्यन्त खुसी छन्। वर्षौंदेखि समस्या भोग्दै आएका सुस्ताबासीलाई पुल बनेपछि ठूलो राहत मिलेको छ।
प्रसिद्ध धार्मिक तीर्थस्थल अर्घाखाँचीको सुपादेउराली मन्दिरनजिकै पनि लामो झोलुंगे पुल बनेको छ। खोला तर्नका लागि नभई पर्यटकीय गन्तव्यका लागि १६२ मिटर उचाइको पुलमा अहिले मन्दिर दर्शनार्थीहरू आकर्षित भएका छन्।
सरकारले पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा नागरिकलाई खोला/नदी र विभिन्न खोंच पार गर्नका लागि झोलुंगे पुल निर्माण गरिरहेको छ। सडकको सुविधा नपुगेका वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेका ठाउँमा झोलुंगे पुल निर्माण भइरहेको छ। नागरिक आवत-जावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समय पर्यटन प्रवर्द्धनको माध्यम समेत बन्दै गएका छन्।

माग र विस्तार बढ्दो
पछिल्ला वर्षहरूमा भौगोलिक कठिनाइ भएका, पर्यटकीय र धार्मिक स्थलमा झोलुंगे पुलको माग बढिरहेको छ। प्रत्येक वर्ष ५०० वटाभन्दा बढी पुलको माग रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ।
हरेक वर्ष देशभर ४५० भन्दा बढी पुल निर्माण भइरहेका छन्। देश संघीयतामा गएपछि स्थानीय र प्रदेश सरकारले पनि पुल निर्माण गर्न थालेका छन्।
नेपालमा लम्बाई अनुसार झोलुंगे पुललाई 'सर्ट स्पान पुल' र 'लङ स्पान पुल' भनी वर्गीकरण गरिएको छ। १२० मिटरभन्दा छोटोलाई 'सर्ट स्पान' र १२० मिटरभन्दा लामोलाई 'लङ स्पान' भनिन्छ।
प्रकार अनुसार 'सस्पेन्सन डी टाइप', 'सस्पेन्सन एन टाइप' र 'स्टील ट्रस' भनी विभाजन गरिएका छन्। डी टाइप सामान्यतः पहाडी भेगमा र समथर भूभागमा एन टाइपको झोलुङ्गे पुल निर्माण हुने गरेका छन्। धेरै लामो दूरी भएको नदीमा 'मल्टिस्पान झोलुंगे पुल' निर्माण गरिने सस्पेन्सन ब्रिज डिभिजन श्रीमहल, पुल्चोक, ललितपुरका सूचना अधिकारी तथा सिनियर डिभिजन इन्जिनियर (सीडीई) प्रेमनारायण बस्याल बताउँछन्।

बस्यालले नदी खोलासँगै भौगोलिक दुरी छोट्याउन र पर्यटकीय गन्तव्यका लागि झोलुंगे पुलको माग बढिरहेको बताए।
'दुर्गमका जनता बस्तीसँग जोडिन पाएकोमा खुसी छन्,' बस्यालले लोकान्तरसँग भने, 'चारैतिर पहाडको बीचमा खोला छन् । यस्तो भू-भागमा सेवाका लागि झोलुंगे पुलले सहजता ल्याएका छन्। निर्माणभन्दा पनि पुलको संरक्षण महत्त्वपूर्ण छ, यसको विकासका लागि हामी थप प्रयत्न गर्नेछौं।'

बजेट र भविष्यको योजना
अहिले सस्पेन्सन ब्रिज डिभिजनले ३ करोडभन्दा माथिको बजेटका पुलको काम गर्दै आएको छ।
स्थानीय र प्रदेश सरकारले पनि पुल बनाइरहेकाले पछिल्लो पुलको एकिन तथ्याङ्क छैन, तर अहिलेसम्म देशभर ११ हजारभन्दा बढी झोलुंगे पुल बनेर सञ्चालनमा रहेको बस्याल बताउँछन्।
'चालू आर्थिक वर्षमा हामीसँग जम्मा २० वटा मात्र नयाँ योजना छन्। हामी पुरानो योजना सम्पन्न गर्ने लक्ष्यमा छौं। अहिले हामीसँग ९६ करोड रूपैयाँ बजेट छ,' उनले भने।
स्थानीय तहबाट माग बढेपछि पुल बनाउने जिम्मेवारी बाँडफाँड गरिएको छ। सर्ट स्पान (१२० मिटरसम्म) पुल निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। 'लङ स्पान' (१२० मिटरभन्दा लामो) पुल भने प्रदेश र संघले निर्माण गर्ने गर्छन्।

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर तथा पुल महाशाखा प्रमुख विनोद चौधरीले प्रदेश मातहत झोलुंगे पुल निर्माण कम भइरहेको बताए । 'प्रदेशलाई झोलुंगे पुलका लागि बजेट कम छ,' चौधरीले लोकान्तरसँग भने, 'हामीले एउटा पुलका लागि ५/७ लाख रुपैयाँभन्दा बढी दिन मिल्ने अवस्था छैन। हामीले अति आवश्यक ठाउँमा बाहेक मनोरञ्जनका लागि पुल बनाउने बजेट प्रदेशसँग छैन। हाम्रो स्रोत सीमित छ।'
कालीगण्डकी कोरिडोर बनेपछि गुल्मी, बाग्लुङका विभिन्न ठाउँबाट पर्वतका विभिन्न पालिका जोड्ने दर्जनौं ठूला र लामा झोलुंगे पुलले यातायात सुगम बनाएका छन्।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व र रोल्पामा झोलुंगे पुलको माग बढी आउने गरेको मन्त्रालयले जनाएको छ।