
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट डिल्लीबजार कारागारमा पठाइएको पत्रको आधिकारिकता नबुझ्दै रेशम चौधरीलाई पक्राउ गरेको पाइएको छ ।
चौधरीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी प्रह्लाद कार्कीको नेतृत्वमा प्रहरी प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको थियो ।
डिल्लीबजार कारागारबाट पत्र साथ आएका कर्मचारीले ‘चौधरीलाई पक्राउ गर्न आदेश छ’ भन्दै प्रहरीको सहयोग मागे ।
काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारी डीएसपी कार्कीको कमान्डमा टोली पठाएर चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार बुझाउन निर्देशन दिए ।
लोकान्तरकर्मीले चौधरीलाई किन पक्राउ गरेको भनेर एसएसपी समेत रहेको काठमाडौं प्रहरी प्रमुख अधिकारीलाई सोध्दा उनले ‘अदालतको फैसला कार्यान्वयनका लागि हो’ भन्दै जवाफ दिए ।
पछि पत्रको आधिकारिकताबारे सोध्दा उनले ठोस जवाफ दिएनन् । बरु सर्वोच्चको पत्र कारागारले लिएर आएपछि प्रहरीले चौधरीलाई पक्राउका लागि सहयोग मात्रै गरेको बताए ।
अधिकारीले सर्वोच्चबाट डिल्लीबजार कारागारलाई काटेको पत्र समेत आफूसँग नभएको बताए ।
पत्रको आधिकारिकताविनै चौधरीलाई किन पक्राउ गरेको भन्ने प्रश्नमा उनले भने, ‘पहिला पनि कारागारको पत्र आएपछि हामीले प्रहरी साथमा लागेर व्यक्ति पक्राउ गरेर बुझाउने गरेका थियौं, अहिले पनि त्यही गरेका हौं । बाँकी थाहा भएन ।’