
पोखरा, १५ मङ्सिर- दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार घरदैलो, कोणसभा, आमसभा तथा भेटघाट गरिरहेका छन् । यसअघिका निर्वाचनमा जिल्लामा मिश्रित परिणाम आउने गरेकामा यसपटक कसको पोल्टामा जाला भन्ने अडकलबाजी हुन थालेका छन्,कान्तिपुरमा खबर छ ।
कास्कीमा वाम गठबन्धन र कांग्रेसबीच कडा टक्कर देखिन्छ । दुवै प्रतिस्पर्धीबीच जिल्लालाई लोकतान्त्रिक किल्ला बनाउने कि वाम किल्ला बनाउने भन्ने रस्साकसी चलेको छ । २०४८ देखि ०५६ सम्मका निर्वाचनमा कास्कीमा तीन क्षेत्र थिए । दुई वटा संविधानसभा निर्वाचनमा चार क्षेत्र भएकामा अहिले फेरि घटेर तीनमै झरेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस र एमालेले २/२ सिट जितेका थिए भने ०६४ को पहिलो संविधानसभामा माओवादीले ३ र एमालेले एक सिट जितेर वाम किल्ला बनाएका थिए । ०५६ को संसदीय निर्वाचनमा कांग्रेसले सबै तीन सिट नै जितेको थियो । ०४८ र ०५१ मा कांग्रेसले एक र एमालेले दुई सिट जितेका थिए, कान्तिपुरमा खबर छ ।