०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

किर्ते पत्रले रेशम पक्राउ–दुई पार्टीको एकता स्थगित, शिक्षक आन्दोलन थामथुम

बैशाख १८, २०८२
काठमाडौं
किर्ते पत्रले रेशम पक्राउ–दुई पार्टीको एकता स्थगित, शिक्षक आन्दोलन थामथुम

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सर्वोच्च अदालतका कर्मचारीको किर्ते पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार अनाहकमा करिब ५ घण्टा कारागार चलाउन हुनुपरेको छ । टीकापुर घटनामा दोषी ठहर भएको र सर्वोच्चको फैसला कार्यान्वयन गर्नु भनेर सर्वोच्चकै कर्मचारी महिमान सिंह विष्टको फर्जी पत्रका आधारमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको थियो । उक्त पत्र अनधिकृत रहेको पुष्टि भएसँगै उनी बुधबार साँझ नै डिल्लीबजार कारागारबाट रिहा भए । 

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच हुने भनिएको एकता घोषणाको ठिक अघि उनी कार्यक्रम तय भएको प्रज्ञा भवन नजिकैबाट पक्राउ परेका हुन् । उनी पक्राउ परेसँगै कार्यक्रम नै भाँडिन पुग्यो । यद्यपि नेताहरुले पुनः छलफल गरेर एकता गर्ने बताएका छन् । 

००००

यसैबीच चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

 शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ । सर्वोच्च अदालतले विज्ञप्तिमार्फत उक्त पत्र फर्जी भएको स्पष्ट गरिसकेको छ । 

००००

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पार्टी एकता भाँड्नका लागि घोषणास्थलबाट रेशम चौधरी पक्राउ पर्नु गम्भीर षडयन्त्र भएको आरोप लगाएका छन् । उनले यसलाई कर्मचारीको त्रुटि भन्दा पनि षडयन्त्रको रूपमा लिएको बताए ।

सर्वोच्च अदालतका एक कर्मचारीले लेखेको फर्जी पत्रले केही घण्टा जेल पुगेका रेशम चौधरीलाई रिहा गराउन डिल्लीबजार कारागार पुगेका राउतले पार्टी एकता भाँड्नकै लागि पक्राउ गरिएको आरोप लगाएका हुन् । 

००००

सर्वोच्च अदालतले ६५ वर्षमाथिका व्यक्तिलाई गभर्नर नियुक्त नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले बुधबार यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले ६५ वर्ष नाघेका व्यक्तिलाई अर्थमन्त्रालय सम्बद्ध निकायमा नियुक्त गर्न मिल्ने गरी जारी गरिएको मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

००००

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिकारीले मागपत्र बुझाएका हुन् ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनयात्रा मूल समितिको उपसंयोजकको जिम्मेवारी डा तोसिमा कार्कीलाई दिएको छ ।

पार्टीको जनयात्रा मूल समितिको बुधबार बसेको बैठकले डा कार्कीलाई (उपसंयोजक), कमल सुवेदीलाई (सचिव) र निशा डाँगीलाई (प्रवक्ता)को जिम्मेवारी तोकेको हो ।

००००

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

००००

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

००००

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलका साथै हवाई इन्धनको मूल्य घटाएको हो । 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २९ डलर प्रतिकिलो लिटर घटाइएको छ ।

००००

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षक आन्दोलन हाललाई स्थगित भएको छ ।

 शिक्षकहरूको प्रमुख माग विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र संसदबाट पारित गर्नेगरी दुई पक्षबीच समझदारी भएको छ । त्यसका लागि सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समितिका सभापतिले लिखित प्रतिबद्धता जनाएसँगै शिक्षक आन्दोलन हाललाई स्थगित भएको हो । उधारोमा सहमति भएसँगै २९ दिनदेखिको शिक्षक आन्दोलन हाललाई थामथुम भएको छ । 

००००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन बुधबार पनि गिरावट देखिएको छ ।

बुधबार नेप्से परिसूचक ८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को विन्दुमा कायम भएको हो ।

००००

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेका बताए ।

००००

प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ६ जना प्रहरी अधिकारीहरूले दज्र्यानी चिह्न पाएका छन् ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा आयोजित औपचारिक समारोहमा उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

००००

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्