
‘मलाई कानूनले तोकेको सजाय दिनुस्, तयार छु । तर, भाला रोपी–रोपी मारिएका बालबच्चालाई कसले दिन्छ न्याय ?,’ सर्वोच्च अदालतका शाखा अधिकृत महिनमानसिंह विष्टले प्रहरीसँगको बयानको शुरूमै भने ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका विष्टसँग सामान्य सोधपुछ थाल्दै गर्दा विष्टले यसो भनेका हुन् । उनले सर्वोच्च अदालतको लेटरप्याड र छाप प्रयोग गरी आफैं पत्र लेखेर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ र कारागार चलान गराए । यही प्रकरणलाई लिएर सर्वोच्चले विष्टमाथि प्रचलित कानूनअनुसार कारबाही गर्न प्रहरीको जिम्मा लगाएको थियो ।
विगत १५ वर्षदेखि परिवारसँगै भक्तपुरको ठिमीमा बस्दै आएका विष्ट कैलालीको टीकापुर नरसंहारका बेला जिल्ला अदालत कञ्चनपुरमा कार्यरत थिए ।
उनले त्यो घटनालाई आफूले नजिकबाट नियालेको र त्यहाँ क्रुरतापूर्वक भाला रोपेर बालबालिका मारिएको दृश्य आफ्नो मानसपटलमा अझै घुमिरहेको बताएका छन् ।
‘सर्वश्वसहित जन्मकैद तोकिएको अपराधीलाई पनि आममाफी हुन्छ ?,’ विष्टले प्रहरीसँग उल्टै प्रश्न गरेका छन् । श्रीमतीसँग समेत आफूले टीकापुर घटनाका पीडितलाई जसरी पनि न्याय दिलाएरै छाड्ने बताउने गरेको उनको बयान छ ।
‘जुन दिन टीकापुर घटना भयो, त्यसपछि म राम्रोसँग सुत्न पाएको छैन । दिमागमा अनेक कुरा खेलिरहेका छन्,’ विष्टको प्रारम्भिक बयान उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘यस्तो क्रूर हत्याका नाइकेलाई पनि आममाफी दिन मिल्छ ?’
उनले टीकापुर घटना अझै पनि आफ्नो मानसपटलमा घुमिरहेकाले चौधरीलाई थुनामा पठाउने उद्देश्यले पत्र लेखेर प्रहरी र कारागारमा आफैं पुगेको बताएका छन् । पत्र लेखेर शुरूमा डिल्लीबजार कारागार पुगेका विष्टले प्रहरी प्रधान कार्यालयमा समेत पत्र फरवार्ड गरेका थिए ।
प्रहरी महानिरीक्षक दीपक थापालाई उक्त पत्रका बारेमा जानकारी गराएपछि थापाले अदालतको कर्मचारी हो कि हैन भनेर परिचय पत्र हेर्न लगाएका थिए । अदालतको परिचयपत्र समेत देखेपछि प्रहरी थप भेरिफाई गर्नतर्फ लागेन ।
‘विभिन्न अदालतबाट दैनिक दर्जनौं पत्र प्रहरी कार्यालयमा आउँछन्, त्यहीअनुसार कारबाही पनि भएका छन्,’ प्रहरी मुख्यालयका एक अधिकृतले भने, ‘आईजीसाबले पनि कार्ड र मान्छे भेरिफाई गरेरै चौधरीलाई पक्राउका लागि सहयोगी भूमिका खेल्न निर्देशन दिनुभएको हो ।’
चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागारमा पठाउने पत्रको बारेमा प्रहरी महानिरीक्षकसम्मलाई रिपोर्टिङ भएपछि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङसँग पनि संवाद गरे ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले समेत तामाङलाई रिपोर्टिङ गरेका थिए । पत्र नै आएपछि पक्राउ गर्न निर्देशन दिए ।
चौधरीलाई प्रहरीले पक्राउ गरेर कारागारमा बुझाइदियो । तर, सर्वोच्चबाट त्यस्तो पत्र कसरी लेखियो भन्नेतर्फ खोजीनीति हुँदा विष्टले सनकका भरमा लेखेको पुष्टि भएपछि अर्को पत्रमार्फत चौधरीलाई जेलमुक्त गरिएको थियो ।
‘मैले यो पत्र सोचीसम्झी लेखेको हुँ । मलाई थाहा थियो, यो पत्रले हंगामा ल्याउँछ भनेर,’ विष्टले प्रहरीसँगको बयानमा भनेका छन्, ‘मैले त अधिकार दुरुपयोग गरेर पत्र मात्रै लेखेको हुँ, टीकापुरमा भाला रोपेर दर्जनौं मान्छे मार्ने घटनाका नाइकेलाई चाहिँ के हुन्छ ?’
उनले अपराधलाई राजनीतिकरण गर्दा चौधरीले आममाफी पाए पनि यो प्रकरणविरुद्ध सर्वोच्चमा रिट विचाराधीन रहेकाले न्यायाधीशहरूले पीडितलाई न्याय गर्नेमा आफू आशावादी रहेको बताएको प्रहरी अधिकृतहरू बताउँछन् ।
विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई शुक्रबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’सँग सम्बन्धित कसुरमा अनुसन्धान गरिरहेको छ ।