२६ असार २०८३, शुक्रबार
जीवनदर्शन

अन्तरसंयोजन शक्तिको करामत

बैशाख २०, २०८२
काठमाडौं
अन्तरसंयोजन शक्तिको करामत

विशेष कामले केही महिनाका लागि गत हप्ता प्रवासको यात्रामा हिँडेको थिएँ । यात्रा थियो कतार एयरवेजको उडानबाट । काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहा हमाद अन्तराष्ट्रिय विमानस्थालसम्मको यात्रा करिब चार घण्टाको थियो । यात्रा अवधि नै छोटो भएकाले खासै सम्झन लायक केही थिएन तर, जब जहाजले हमाद अन्तराष्ट्रिय विमानस्थलबाट करिब १६ घन्टाको उडान शुरू गर्‍यो त्यसपछि भने मनमा अनेक विचार उत्पन्न हुन थाले । 

जहाज एटलान्टिक महासागरको आकाशमाथि कावा खाँदै थियो मन आफ्नै यात्रामा उड्न थाल्यो । उसो त कतारबाट यूएसएतिर आउँदा रात नै पर्दैन । जति बेला चिहाए पनि बादलमाथि घाम लागिरहेको देखिने तर, विमानका झ्यालहरू प्रायः बन्द रहने भएकाले भित्र भने रातकै साम्राज्य भान हुने गथ्र्यो । सबै यात्रु मस्त निद्रामा थिए । साथ रहेकी पूर्णाङ्गिनी सरस्वतीलाई हेरेँ उनी पनि घुरिरहेकी थिइन तर, आफूलाई भने यात्रामा पटक्कै निद्रा नआउने । यस्तो अवस्थामा मनले कुरा नखेलाएर आखिर गरोस् पनि के !

मनमा अनेक किसिमको विचारहरू एटलान्टिक महासागरको लहरजस्तै आउँदै र बिलाउँदै गर्न थाले । यसै क्रममा अचानक विचार आयो यति ठूलो जहाजलाई खुला आकाशमा कुन शक्तिले थामेको होला ? विमानको वजन आफैंमा यति बढी छ । त्यसमाथि चार/पाँचसय यात्रु र जनही कम्तीमा ४६ केजीसम्मको समान बोकेर उडेको छ । न कुनै रोकटोक छ न बिसाउनी छ । निरन्तर आकाशमा त्यो पनि १६ घण्टासम्म कसरी अढेको होला ? बेलाबेलामा सामुद्रिक वायुको प्रभावका कारण सामान्य हलचल हुनुबाहेक घरभित्र बसेको हो कि आकाशमा उडेको हो पत्तै नहुने । के हो यो चमत्कार ? 

उनै संसारको महान जादूगरको जादू होला कि प्राकृतिक शक्तिकै चमत्कार होला । यस्तैयस्तै सोच्दासोच्दै आफैंले भन्ने गरेको अन्तरसंयोजन शक्तिको सम्झना आयो र त्यतैतिर घोत्लिन लागेँ । घोत्लिँदै जाँदा पाइएको उत्तरलाई यस आलेखमा उतार्ने प्रयास गरेको छु । 

हरेक पदार्थमा ऊ जत्तिकै शक्तिशाली अन्तरसंयोजन शक्ति हुन्छ र संसारका यावत गतिविधिमा उसको अहम् भूमिका हुन्छ भन्ने कुरा पहिले नै कतै भनिसकेको छु । जब प्राकृतिक होस् वा भौतिक हरेक गतिविधिमा अन्तरसंयोजन शक्तिले काम गरेको हुन्छ भने जहाजको उडानमा मात्र नगर्ने भन्ने प्रश्नै रहेन । मात्र फरक अन्यत्र एउटा काममा एउटा अन्तरसंयोजन शक्तिले काम गरेको हुन्छ भने यहाँ एकै साथ दुइटा शक्तिले काम गरेको हुन्छ, जसमा एक विशुद्ध प्राकृतिक तथा अर्को प्राकृतिक र भौतिक शक्तिको समन्वयात्मक स्वरूप पर्दछन । 

यसमा प्राकृतिक शक्ति भनेको त यसै पनि प्रकृति प्रदत्त शक्ति भइहाल्यो । प्राकृतिक र भौतिक शक्तिको समन्वात्मक स्वरूप भनेको दुवै मिलेको अवस्था हो ।
जहाजको उडानमा प्राकृतिक शक्ति भन्नाले वायुजातिका पदार्थलाई लिनुपर्ने हुन्छ, जसको स्थान अन्तरिक्षमा हुन्छ भने गुरुत्वाकर्षण शक्तिका कारण भौतिक पदार्थको स्वभाव तलतिर खस्ने हुन्छ । जब एउटा जातिका पदार्थको गतिले माथितिर तान्ने र अर्को जातिका पदार्थले तलतिर खस्ने बल गर्छ तब अन्तरसयोजन शक्ति सक्रिय हुन्छ र ती दुईका बीचमा सन्तुलन मिलाइदिन्छ । यहाँ पनि भएको यस्तै हो, जसले गर्दा कुनै भौतिक वा प्राकृतिक कारण ती दुईबीचको सन्तुलमा विघ्न पर्दैन त्यतिबेलासम्म उसको गति निर्वाधरूपमा अघि बढेको हुन्छ । जहाँसम्म गति ढिलोचाँडो हुनुको कुरा छ त्यो भने सम्बन्धित पदार्थमा हुने शक्तिमा निर्भर गर्दछ । 

अब आयो विशुद्ध प्राकृतिक शक्तिको कुरा । यसमा प्रकृति प्रदत्त वायु पर्दछ तर, भौतिक पदार्थको भार त्योभन्दा बढी भएको अवस्थामा भारको अनुपातमा इञ्जिनद्वारा थप वायुशक्ति उत्पन्न गरी सन्तुलन मिलाउनुपर्ने हुन्छ । यहाँ पनि भएको यस्तै हो, जसले वायु जातिका पदार्थ र विमान जातिको पदार्थबीचमा अन्तरसंयोजन कायम कायम गरी विमानलाई निर्वाध उडान भर्न सघाएको हुन्छ । यद्यपि यो लेखकको निजी विचार हो । यसमा विज्ञानको भनाइ के छ थाहा छैन । हुन सक्छ केही फरक पर्न पनि सक्छ । कदाचित त्यस्तो हो भने प्रतिक्रियाको अपेक्षासहित कलम बन्द गर्दछु ।

salt training

कमेन्ट गर्नुहोस्