
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले कानूनी अनुसन्धानको वर्तमान प्रणालीलाई सुधार गर्नुपर्ने बताएकी छिन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कूल अफ लले आयोजना गरेको ‘राष्ट्रिय अभ्यास अदालत’ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनले नेपालको संविधानले करुणासहितको न्यायको कल्पना गरेको बताइन् ।
अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उल्लेख गर्दै उनले भनिन्, 'कानून र करुणा एकअर्काका विपरीत होइनन्, कानूनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय हुँदैन । अपराधको अनुसन्धान र अभियोजनमा पनि करुणा हुनुपर्छ ।'
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले कानूनमा न्यायिक करुणाको व्यवस्था हुनुपर्ने विचार व्यक्त गरे ।
महान्यायाधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रुपान्तरण गर्दै जान आवश्यक रहेको बताए ।
नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्याय सम्पादनमा अनुशरण गर्दा कानूनी क्षेत्रमा नयाँ अभ्यास स्थापित हुने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रर डा. तिलकराम आचार्यले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्दै आएको बताए ।