
नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सर्लाहीदेखि पूर्वका ट्रक व्यवसायी संघका १०० भन्दा बढी पदाधिकारी सहभागी प्रशिक्षणमा क्यूआर कोडमार्फत ट्रक ट्र्याकिङ, जीपीएस, अनलाइन भुक्तानी, कागजात व्यवस्थापन, मर्मत, ग्राहक सेवा र वास्तविक समय निगरानीबारे जानकारी दिइएको छ ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाले देशभरका २१ धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया शुरू भएको बताए। डिजिटल प्रविधिबाट ओभरलोड नियन्त्रण, पारदर्शिता र डेटा सुरक्षित राख्ने लक्ष्य रहेको उनको भनाइ छ ।
अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोडका कारण संरचनामा क्षति भएको उल्लेख गर्दै समाधानका लागि थप कार्यक्रम गरिने बताए ।
महासंघले सिन्डिकेट अन्त्य गर्न लोड बोर्ड एप ल्याएको र सम्पूर्ण ढुवानी प्रक्रिया डिजिटल ट्रयाकिङमार्फत व्यवस्थित गरिने जनाएको छ।
डिजिटल डाटाबेस, स्मार्ट कार्ड, ट्रक रुट नियमन, सवारी पास र बिमा प्रणाली पनि अनलाइन बनाउने तयारी भइरहेको महासंघले जनाएको छ।
कार्यक्रमको निष्कर्षमा महासंघले सरकारसँग सहकार्य गर्दै ट्रक ढुवानीको डिजिटल रुपान्तरण अघि बढाउने प्रतिबद्धता जनाएको छ।