
कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव गरेका छन् । मागपत्र बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका एकीकृत समाजवादीका नेताहरूलाई कार्कीले पाटी एकता गर्न प्रस्ताव गरेका हुन् ।
आगामी वर्षको बजेटलाई लक्षित गरेर एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले १७ वटा विषय समेटेर १३८ बुँदे मागपत्र बुझाएको छ ।
उक्त मागपत्र बुझेपछिको अनौपचारिक छलफलमा मुख्यमन्त्री कार्कीले पार्टी एकताको प्रस्ताव गरेका हुन् । 'दुई गौरवशाली पार्टी भनेर मात्रै भएन, अब एउटै गौरवशाली पार्टी बनाउनुपर्छ,' उनले भने ।
उनले यो प्रस्ताव गरिरहँदा पत्रकारहरूले भिडियो खिचिरहेका थिए । तर उनले पत्रकारलाई उक्त संवाद नखिच्न आग्रह गरे ।
त्यसपछि मुख्यमन्त्री कार्कीले थपे, ‘यो अनौपचारिक कुरा हो, दुई वटाले गौरवशाली पार्टी किन भन्ने ? दुईवटै गौरवशाली मिलाएर एउटै गौरवशाली बनाऔं ।’
कार्कीको प्रस्तावमा समाजवादीका नेताहरूले कुनै प्रतिक्रिया जनाएनन् ।
एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, पोलिटब्यूरो सदस्यहरू महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्कालगायतका नेताहरू मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, उर्जा तथा विद्युतीकरण, शिक्षा र रोजगारी लगायत १७ वटा विषयमा १३८ बुँदा माग राखिएको छ ।
यस्तो छ समाजवादीले बुझाएको मागपत्र