
स्रोत खुल्न नसकेको झण्डै ९५ लाख रुपैयाँसहित चार जना व्यक्तिहरूलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आइतबार साँझ ४ बजे काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि दुईवटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार चार जनालाई चेकजाँच गर्दा उनीहरू बोकेको झोलाबाट पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपैयाँ फेला परेको हो। रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र हाल ठेगाना नखुलेका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।
प्रहरीले उनीहरू सवार दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।