
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा बनेका सबै फिल्ममाथि शतप्रतिशत कर लगाउने घोषणा गरेका छन् । उनले अमेरिकी फिल्म उद्योग तीव्र गतिमा 'मृत्यु'को मुखमा पुगेको बताउँदै यो कदम आवश्यक भएको दाबी गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, 'अमेरिकी फिल्म डुबाउने अन्य राष्ट्रहरूको सुनियोजित प्रयास छ र यो राष्ट्रिय सुरक्षाको लागि खतरा हो । यो प्रचार र सन्देश प्रवाहको माध्यम पनि हो ।'
उनले वाणिज्य मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिलाई तत्काल यो कर लगाउने प्रक्रिया शुरू गर्न निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले सामाजिक सञ्जाल एक्समार्फत आफू विदेशी फिल्ममा कर लगाउने प्रक्रियामा जुटिसकेको बताएका छन् ।
तर, यो कर कसरी लागू हुन्छ भन्ने स्पष्ट विवरण भने दिइएको छैन । विदेशी सरकारहरूले कर छुट र आर्थिक प्रोत्साहन दिएर अमेरिकी फिल्म निर्मातालाई आकर्षित गरेको ट्रम्पको आरोप छ ।
यसले हलिउड र अमेरिकाका अन्य क्षेत्रमा विनाश निम्त्याएको उनको भनाइ छ । सन् २०२३ मा अमेरिकी निर्माताले ४ करोड डलरभन्दा माथिको बजेटका फिल्म र टेलिभिजन परियोजनाको आधा खर्च विदेशमा गरेका थिए, जसले लस एन्जलसमा उत्पादन करिब ४० प्रतिशतले घटेको छ ।
यो घोषणापछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्नो फिल्म उद्योगको पक्षमा वकालत गर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्ट्रेलियाका गृहमन्त्री टोनी वर्कले भनेका छन्, 'हामी अस्ट्रेलियाली स्क्रिन उद्योगको अधिकारका लागि दृढतापूर्वक उभिनेछौं ।'
त्यस्तै, न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले पनि आफ्नो देशको चलचित्र उद्योगको समर्थन गर्ने बताए । यता, डिज्नी र पारामाउन्टजस्ता कम्पनीका शेयरहरू सोमबार बिहानको कारोबारमा घटेका छन् ।
ट्रम्पको यो कदमले विश्वव्यापी व्यापारमा थप तनाव ल्याउन सक्ने बताइएको छ । चिनियाँ सामानमा १४५ प्रतिशत र अन्य देशलाई आधारभूत रूपमा १० प्रतिशत कर लगाउने ट्रम्पको आदेशले यसअघि नै बजारमा अस्थिरता ल्याएको छ ।
फिल्म उद्योगमा लगाउन खोजिएको यस्तो करले हलिउडलाई फाइदा होइन, झन् हानि पुग्न सक्ने विज्ञहरूको चेतावनी छ ।