
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको ।
पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तान रहेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका छन् ।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।
पक्राउ परेका स्याङ्तानलाई आवश्यक अनुसन्धान तथा कारबाही लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।