
इजरायली सुरक्षा परिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने निर्णय गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका बासिन्दालाई दक्षिणतर्फ विस्थापित गरिने बताएका छन् ।
एक मन्त्रीले यस योजनालाई 'गाजा जित्ने' कार्यका रूपमा वर्णन गरेका छन् ।
आइतबार भएको मतदानको केही घण्टाअघि इजरायली सेनाले हजारौं रिजर्भ फौज परिचालन गर्ने घोषणा गरेको थियो, जसले गाजामा इजरायलको सैन्य क्षमता बलियो बनाउनेछ ।
नेतन्याहुले सोमबार एक भिडियो सन्देशमा भनेका छन्– 'हामी क्षेत्र कब्जा गर्नेछौं, केवल छिरेर निस्किने योजना होइन ।'
'गाजावासीको सुरक्षाका लागि उनीहरूलाई सारिनेछ,' नेतन्याहुले गहन सैन्य कारबाहीको सन्दर्भमा भने ।
यो योजनालाई इजरायली सुरक्षा परिषद्ले सर्वसम्मतिले स्वीकृत गरेको छ । यसको उद्देश्य हमासलाई दबाउनु र सबै बन्धकहरूलाई मुक्त गराउनु रहेको एक उच्च सुरक्षा अधिकारीले बताएका छन् ।
उक्त योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को साता हुने मध्यपूर्व भ्रमणपछि कार्यान्वयन गरिनेछ, जसले बन्धक सम्झौताको अवसर दिने अधिकारीले बताएका छन् ।
'यदि बन्धकबारे सम्झौता भएन भने, यो योजना पूर्णरूपमा लागू हुनेछ र आफ्ना सबै उद्देश्य पूरा नहुँदासम्म रोकिने छैन,' ती अधिकारीको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ ।
उक्त योजनाअनुसार गाजाको सम्पूर्ण जनसंख्यालाई दक्षिणतर्फ विस्थापित गरिनेछ र त्यसपछि मात्र मानवीय सहायतामाथिको नाकाबन्दी हटाइनेछ । कब्जा गरिएको क्षेत्रमा सेना रहनेछ ।
'कुनै पनि अस्थायी वा स्थायी सम्झौतामा इजरायलले गाजा वरिपरि बनाइएको सुरक्षा बफर जोन खाली गर्नेछैन,' ती अधिकारीले थपे ।
यस सन्दर्भमा नेतान्याहुले भनेका छन्- 'हामी गाजामा ठूलो प्रवेशको पूर्वसन्ध्यामा छौं ।'
सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनका अनुसार गाजामा चलिरहेको अभियानको मुख्य उद्देश्य हमासलाई हराउनु होइन, बन्धकहरूलाई फर्काउनु हो ।
तर, केही दिनअघि नेतन्याहुले भनेका थिए, 'युद्धको सर्वोच्च लक्ष्य इजरायलका शत्रुहरूलाई परास्त गर्नु हो ।'
तर, सैनिक प्रवक्ता डेफ्रिन भने बन्धकहरूको रिहाइपछि मात्र हमास शासनको पतन र पराजयको कुरा आउने बताउँछन् ।
बन्धकका परिवारले युद्ध विस्तारको घोषणालाई तत्कालै आलोचना गरे । यसले बन्धकहरूको सुरक्षामा खतरा उत्पन्न गर्ने उनीहरूको बुझाइ छ । उनीहरूलाई लागेको छ– हमासमाथिको जितलाई प्राथमिकता दिइयो ।
अमेरिकाले इजरायलको नयाँ योजनालाई समर्थन गर्छ कि गर्दैन भन्ने प्रश्नमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले सीएनएनलाई भने, 'हमासले यदि अझै बन्धकहरू राखिरह्यो भने त्यसका गम्भीर परिणाम भोग्नुपर्ने स्पष्ट छ ।'
गाजा कब्जाको सम्भावना खुला
इजरायलका दक्षिणपन्थी वित्त मन्त्री बेजालेल स्मोट्रिचले सोमबार भने, 'हामी गाजा स्ट्रिपलाई जित्न जाँदैछौं ।'
उनले भने, 'यदि सेना गाजामा प्रवेश गरिसकेपछि हमासले नयाँ सम्झौता गरे पनि इजरायली फौज फर्किने छैन । हामी जितेपछि मात्र सार्वभौमसत्ताको कुरा गर्न सकिन्छ ।'
स्मोट्रिच सुरक्षा परिषदमा छन् र नेतन्याहुलाई समर्थन आवश्यक पर्ने मुख्य पात्रमध्ये एक हुन् ।
५२,००० भन्दा बढी गाजावासी मारिए
इजरायलले मार्चको मध्यदेखि गाजामा हवाई आक्रमण शुरू गरेपछि २,४०० भन्दा बढी मानिस मारिएका छन् । समग्र युद्ध शुरू भएदेखि ५२,००० भन्दा बढी गाजावासीको मृत्यु भएको छ ।
युद्ध विस्तार क्रमिक हुने बताइएको छ, ताकि ट्रम्पको मध्य मेमा हुने भ्रमणअघि पुन: युद्धविराम वा बन्धक सम्झौताका लागि अवसर मिलोस् । ट्रम्पले साउदी अरेबिया, यूएई र कतारको भ्रमण गर्नेछन् ।
संयुक्त राष्ट्रसंघले इजरायलको नयाँ योजनाप्रति चिन्ता व्यक्त गर्दै भनेको छ, 'यसबाट थप नागरिकको मृत्यु हुनेछ ।'
अन्तर्राष्ट्रिय प्रतिक्रिया
फ्रान्सका परराष्ट्रमन्त्री जीन नोएल बारोटले इजरायलको योजनालाई अस्वीकार्य भन्दै आलोचना गरेका छन् ।
चीनले पनि इजरायलको कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
गाजामा मानवीय सहायता प्रवेशको इजरायली नाकाबन्दी नौ हप्तादेखि जारी छ ।
इजरायली मन्त्रिपरिषद्ले नयाँ सहायता वितरण प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस संयन्त्रको नेतृत्व एउटा निजी फाउन्डेसनले गर्नेछ ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले भने उक्त संयन्त्र मानवीय सिद्धान्तसँग मेल नखाने भन्दै अस्वीकार गरेका छन् ।
– सीएनएनबाट