
प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ ।
काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो । सो अभियानको सुरुवात आज गोरखापत्र संस्थानबाट गरिएको हो । संस्थानले बुधबार एक सय २५ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा विभिन्न कार्यक्रम भइरहँदा मङ्गलबार प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानले ‘रचनात्मक एवं समाधानमुखी पत्रकारिताको बाटो' विषयक विशेष कार्यक्रम आयोजना गरेको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाइ आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताए ।
गोरखापत्र नेपालको पत्रकारिताको मानक भएकाले यहीँबाट ‘न्युज रुम’ मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको बताए ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्व रहेको बताए । अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ छैन भनेर समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले निरन्तर रूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताए। पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उनले जानकारी दिए ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराइले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्नसक्छ भनेर सोच्नु संस्थानका लागि महत्वपूर्ण विषय भएको उल्लेख गरे ।
कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गरे ।